पाल्पाका ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम

100
Shares

रामपुर (पाल्पा) ११ मंसिर – चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् ।nun

जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताउछिन ।

आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैँ खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउँछन् ।

विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताउछन् ।
मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगर भन्छन्, “ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एका दुईले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।”

खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताए । गोठादीकी मीना चिदिले प्याकेटको तुलनामा खुल्लाको मूल्य कम भएकाले खुल्ला नुन नै प्रयोग गर्दै आइरहेको बताए ।

आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो ।

सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घर÷घरमा रेडियोको पहुँच पुगेकै छ ।

मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *