आजबाट स्वास्थ्य बीमा बोर्डमा पनि नियमित काम सुरु हुँदै

60
Shares

काठमाडौँ, २९ भदौ । गत २३ र २४ भदौ बबरमहल क्षेत्र जेनजी आन्दोलनको मुख्य केन्द्र थियो भन्दा गलत हुँदैन ।

पहिलो दिन माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेपछि हिंसात्मक रुप लिएको थियो ।

अघिल्लो दिनको प्रभाव दोस्रो दिन देशभर नै देखियो । सरकारी कार्यालय, अदालत र प्रहरी चौकीहरु मुख्य निसानामा थिए ।

भिडले सिंहदरबार, सर्बोच्च अदालत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला अदालत काठमाडौँ, बबरमहलको विशेष अदालत लगायत त्यस क्षेत्रका दर्जनौँ सरकारी कार्यालयहरुमा तोडफोड लुटपाट र आगजनी गर्दै गयो । तर, नजिकै रहेको स्वास्थ्य बीमा बोर्डमा भने सामान्य ढुंगा प्रहारबाहेक केही गरेन ।

बोर्डका सूचना अधिकारी विकेश मल्ल भन्छन्, ‘मुख्य सडक तिर भएका कोठाहरुमा ढुंगा प्रहार गरिएछ, झ्यालका केही सिसाहरु फोडिएका छन् । अरु केही क्षति भएको छैन । अहिलेको अरुको अवस्था हेर्दा त हाम्रो कार्यालय पूर्ण रुपमा जोगिएको हो भन्नु पर्छ,’ उनले भने ।

मल्लले विहीबार, शुक्रबार अनलाइन (भर्च्युल रुपमा) बाट काम भए पनि आजबाट सबै कर्मचारीहरु कार्यालयमा गएर आफ्ना आफ्ना काम सम्हाल्ने बताए ।

बोर्डले तीन महिनाका लागि दावी क्लेमका लागि ठूलो संख्यामा चिकित्सकहरु भर्ना गरेको छ । उनीहरु सबै जना आएर कामलाई अघि बढाउने पनि मल्लले बताए ।

कतिपय स्थानबाट स्वास्थ्य बीमा कार्यक्रमलाई असर गरेको त छैन भनेर सोधनी आईरहेको भन्दै उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम पूर्ववत रुपमा तोकिएका स्वास्थ्य संस्थाहरुबाट निरन्तर चलिरहेको छ । पूर्ववत रुपमा नै सेवा लिनु होला । स्वास्थ्य बीमा कार्यक्रममा केही डिस्टर्ब छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *