नेपालबाट बर्षमा बाहिरिन्छन् अढाई हजार बढी डाक्टर, सबैभन्दा बढी कुन देशमा ?
काठमाडौँ, २९ साउन । बरिष्ठ कार्डियाक सर्जन प्राडा रामेश कोइराला अमेरिका गएपछि डाक्टर विदेश पलायनको विषय पुन: चर्चामा आएको छ । तर यो डाक्टर विदेशिने विषय नयाँ भने होईन ।
किनभने, नेपालबाट गएको आर्थिक वर्षमा मात्रै २ हजार ६८१ जनाले विदेश जानका लागि नेपाल मेडिकल काउन्सिलबाट गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएका छन् ।
‘यो विदेशका मेडिकल कलेज, अस्पताल तथा युनिभर्सिटीमा थप अध्ययन वा काम गर्नका लागि तथा फेलोसिप गर्नका लागि पनि हुनसक्छ । सर्टिफिकेट लिनेहरु उतै पलायन हुन्छन् भन्ने चाहि होईन,’ नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले भने ।
उनले कति चिकित्सक उतै पलायन भए ? कति अध्ययन तथा तालीम पछि फर्किए ? भन्ने विवरण भने आफूले भन्न नसक्ने बताए । यद्धपी राम्रो अवसरको खोजीमा विभिन्न देशमा जाने क्रम बढेको अनुभव आफूले गरेको बताए ।
नेपाली चिकित्सकको रोजाई कुन देशमा बढी ?
काउन्सिलका अनुसार १ साउन २०८१ देखि ३२ असार २०८२ सम्म एक वर्षको अवधीमा दुई हजार ६८१ जना नेपाली चिकित्सकहरुले विदेशका कलेज तथा युनिभर्सिटी वा अस्पतालमा बुझाउन भन्दै गुड स्ट्यान्डिङ प्रमाणपत्र लिएका छन् । त्यसमा सबैभन्दा बढी अमेरिकाको लागि छ । अमेरिकाका लागि एक वर्षमा ५८७ जना चिकित्सकले काउन्सिलबाट गुड स्ट्यान्डिङ प्रमाणपत्र लिएका छन् ।
यसपछि सबैभन्दा बढी बेलायतका लागि छ । त्यहाँका लागि ५५० जना चिकित्सकले सो प्रमाण पत्र लिएका छन् ।
त्यसपछिको सबैभन्दा बढी भने दक्षिण एशियाली मुलुक मालदिभ्सका लागि रहेको छ । त्यहाँ जानका लागि ३८४ जनाले काउन्सिलबाट जीएससी लिएका छन् । जानकारहरुका अनुसार मालदिभ्समा धेरै चिकित्सकहरु रोजगारीका लागि गएका छन् ।
यस्तै नेपाली श्रमिकहरुको गन्तव्यको रुपमा परिचित मध्यपूर्वको देश युनाईटेड अरब इमिरेट्स (युएई)का लागि २०५ जनाले प्रमाणपत्र लिएका छन् । उनीहरु पनि रोजगारीका लागि गएको हुनसक्ने काउन्सिलका अधिकारीहरुको अनुमान छ ।
यस्तै अस्ट्रेलियाका लागि २५३ जना चिकित्सकले सो प्रमाण पत्र लिएका छन् ।
भारतका लागि १९२, क्यानडाका लागि ३८, जर्मनीका लागि १६, कतारका लागि १०, ओमानका लागि ३६, डेनमार्कका लागि ३३ जनाले पनि प्रमाणपत्र लिएका छन् ।
यसैगरी सिंगापुरका लागि ९ जनाले, हङकङका लागि ११ जना, आइरल्याण्डका लागि ६ जनाले, साउदीका लागि ३ जनाले पनि पत्र बनाएका छन् ।
नेपालमै थप अध्ययन् तथा रोजगारीका लागि भनेर २९१ जनाले प्रमाणपत्र लिएका छन् भने अन्य मुलुकमा जानका लागि अरु ५७ जनाले प्रमाणपत्र लिएका छन् ।
सम्पर्क इमेल : [email protected]