अब देखि स्वास्थ्य बीमामा आवद्ध भएको एक महिना पछि नै उपचार सुविधा उपलव्ध हुने

 


काठमाडौँ, ३० असार । स्वास्थ्य बीमा नियामावली २०७५ (पहिलो संसोधन २०८२) मा भएका व्यवस्था कार्यान्वयन गर्ने योजनाका साथ अघि बढेको स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार सेवा सुविधा लागू हुने समय चक्रमा समेत परिवर्तन गरेको छ । बोर्डले आउदो १ साउन देखि लागू हुने गरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलव्ध गराउने निर्णय गरेको छ ।

यसअघि बीमा आवद्ध भएका नागरिकले बढीमा पाँच महिना र घटीमा एक महिनाको अन्तरमा सेवा पाउने व्यवस्था थियो ।

बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले आउँदो १ साउन देखि नयाँ व्यवस्था लागू हुन लागेको बताए । उनले नयाँ व्यवस्थाले बीमितहरुको उपचार सुविधा सुरु हुने समय तालीका घटेको बताए ।

‘पहिले चार चक्रमा सेवा सुरु हुने तालीका थियो । त्यसमा कोही कोहीले पाँच महिनासम्म पर्खनु पर्दथ्यो । तर अब १२ चक्रमा यो कार्यक्रम सुरु हुँदैछ । यसले एक महिनाको अन्तरमा उपचार सुविधा लिन पाउने भयो,’ उनले भने ।

सेवा सुविधा लागू हुने समय (चक्र)मा के परिवर्तन भयो ?

सूचना अधिकारी मल्लका अनुसार अहिलेसम्म बैशाख देखि असारसम्म दर्ता भएकाहरुलाई भदौ देखि उपचार सुविधा दिने व्यवस्था छ । यस हिसावले बैशाखमा दर्ता भएका बीमितले सुविधा लिनका लागि भदौसम्म ५ महिना कुर्नुपर्ने भयो ।

‘तर अब १ साउन देखि सुरु हुने नयाँ व्यवस्थाले त्यो लामो अवधीलाई घटाएको छ,’ उनले अगाडी थपे, ‘अब १ साउनमा वा ३० साउनमा यदि कोही बीमामा आवद्ध भए भने उनीहरुले भदौ महिना छाडेर १ असोज देखि सुविधा लिनु पाउने भए ।’

बोर्डले जारी गरेको सूचनामा पनि ‘जुन महिना बीमामा दर्ता भएको हो, सो महिनालाई पहिलो महिना मानी सो पश्चातको तेस्रो महिनाको १ गते देखि नै बीमितको सेवा सुविधा लागू हुनेछ’ भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *