डब्लुएचओ क्षेत्रीय निर्देशक साइमा अनिश्चितकालिन विदामा, उनको जिम्मेवारी डा. क्याथरिनालाई
काठमाडौँ, ३० असार । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)की दक्षिण पूर्वी एशिया क्षेत्र (सेरो) निर्देशक साइमा वाजेद गत ११ जुलाई देखि लागू हुने गरी अनिश्चितकालिन विदा (इनडिफाइनिट लिभ)मा बसेकी छन् ।
डब्लुएचओले उनको स्थानमा डा. क्याथरिना बोहेमलाई सेरोको कार्यवहाक निर्देशकको जिम्मेवारी दिएको छ । डा बोहेम डब्लुएचओकी सहायक महानिर्देशकको रुपमा काम गर्दै आएकी थिईन् ।
वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । बंगलादेशमा गतवर्षको जुलाई अगष्टमा भएको आन्दोलनबाट हसिना परिवारले देश नै छाडेर भाग्नु पर्ने अवस्था आएपछि साइमाले राम्ररी काम गर्न सकेकी थिईनन् । त्यसो त बंगलादेशमै नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको, आर्थिक अनियमिता गरेको लगायतका विभिन्न आरोप थियो । क्षेत्रीय निर्देशक हुँदाका बखत पनि उनले राज्य शक्तिको दुरुपयोग र विवादित प्रक्रिया नियुक्ती लिएको टिप्पणी हुने गरेको थियो ।
पछिल्लो पटक बंगलादेशले बाजेदको गिरफ्तारीका लागि वारेन्ट जारी गरेको र उनी अन्य देशमा पनि भ्रमण गर्न नसकेपछि डब्लुएचओले उनलाई फोर्स लिभमा पठाएको बताइएको छ ।
वाजेदको विषयमा नेपाली हेल्थ डटकमले राखेको प्रश्नमा डब्लुएचओ मुख्यालयले उनी अहिले विदामा रहेको र डा. क्याथरिना बोहेमलाई ‘अफिसर इन चार्ज’को जिम्मेवारी दिइएको बताएको छ ।
‘हामी तपाईँलाई यत्ति मात्रै भन्न सक्छौँ कि, डब्लुएचओका क्षेत्रीय (सेरो) निर्देशक साइमा वाजेद हाल विदामा हुनुहुन्छ । यस अवधीमा डा क्याथरिना बोहेमले अफिसर इन चार्जको रुपमा त्यहाँको जिम्मेवारी सम्हाल्नु भएको छ, ‘ इमेलमा भनिएको छ ।
सम्पर्क इमेल : [email protected]