स्वास्थ्य बीमा कार्यक्रममा सुधारका प्रयास :

वीरमा प्रथम सेवा विन्दु बनाएका दुई हजार बढी वीमित परिवार हटाइयो

रेफरल अस्पतालबाट प्रथम सेवा विन्दु हटाएपछि धरान, दाङ, पोखरामा विरोध

काठमाडौँ, २९ असार । स्वास्थ्य बीमा कार्यक्रममा रिफरल अस्पतालको रुपमा सूचीकृत स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु तोकेर बीमितको उपचार गर्न पाईदैन । तर कतिपय ठाउँमा अहिलेसम्म भई रहेको थियो । देशकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल वीर मै दुई हजार बढी परिवारले प्रथम सेवा विन्दुको रुपमा उपचार सुविधा लिने गरेका थिए ।

यस्तै काभ्रेको धुलिखेल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको गण्डकी मेडिकल कलेज दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तनहुँको जीपी कोइराला राष्ट्रिय स्वास प्रश्वास केन्द्र लगायतका ठूला संस्थाहरुमा तोकिएरै प्रथम सेवा विन्दुको सेवा निरन्तर थियो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्न भन्दै अघि बढेको स्वास्थ्य बीमा बोर्डको नयाँ टिमले रेफरल अस्पतालमा प्रथम सेवा बिन्दु नदिईने निर्णय गरेको छ । निर्णय मात्रै होईन त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउने क्रम सुरु भई सकेको छ । किन भने अव ती अस्पतालले प्रथम सेवा विन्दुको रुपमा बीमितको उपचार गरेर त्यसवापतको रकम सोधभर्ना गर्न पाउने छैनन् ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा भन्छन्, ‘हामीले ठूला अस्पतालमा प्रथम सेवा विन्दुको रुपमा साधारण चेकअप गर्न थालियो भने त खास सेवा लिन आएका जटिल बिरामीहरुको अवसर गुम्न सक्छ । त्यसैले यसालई व्यवस्थित गर्न हामीले प्रथम सेवा विन्दुको छुट्टै विवरण र रेफरल अस्पतालको छुट्टै बिबरण सार्वजनिक गरेका हौँ ।’

थापाले वीर अस्पतालमा मात्रै २००० बढी परिवारको प्रथम सेवा विन्दु राखेको पाईएको बताए । एक परिवारको पाँच जनाको दरले हिसाव गर्दा पनि बीमा गरेका १ लाख परिवारको प्रथम सेवा विन्दु त वीरमै राखिएको रहेछ । खासगरी त्यहाँका स्टाफहरुका लागि त्यो सुविधा राखिएको रहेछ । अब त्यो रोकियो, यसले बीमितको उपचारका लागि हुने भीड घट्ने बताए ।

प्रथम सेवा विन्दु हटाएको भन्दै धरान र दाङमा प्रदर्शन
यसैबीच बोर्डले रेफरल अस्पतालबाट प्रथम सेवा विन्दु हटाउने निर्णय गरेपछि धरान तथा दाङमा प्रदर्शन भएको खबर प्राप्त भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि प्रथम सेवा विन्दु तोकेर सेवा लिईरहेका स्थानीयले बोर्डको निर्णयको विरोध गरेको हो ।

यस्तै विरोध दाङमा पनि देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा प्रथम सेवा विन्दु दिनु पर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । यस्तै पोखरा र तनहुँमा पनि विरोधका आवाज उठेको जानकारी प्राप्त भएको छ ।

‘स्वास्थ्य बीमा सेवालाई व्यवस्थित गर्न प्रथम सेवा विन्दु र रेफरल सेन्टरले जिम्मेवारी फरक फरक तोकिएको छ । साधारण उपचार प्रथम सेवा विन्दुबाट हुन्छ, विशिष्टीकृत सेवा रेफरल सेन्टरबाट हुने हो । यसले आवश्यकता अनुसार सबै बीमितको उपचार सेवालाई व्यवस्थित गर्न सकिन्छ । त्यसलाई करेक्सन गर्न खोज्दा कहि कतै असन्तुष्टी भएको सुनिएको छ । तर हामी यस निर्णयबाट पछाडी हट्दैनौँ,’ अध्यक्ष थापाले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *