‘पेण्डिङ’ माग दावीको ‘रिभ्यु’का लागि छनौट भएका मेडिकल अधिकृतहरु नियुक्ती पत्र लिने बेलामा हच्किए
काठमाडौँ, २६ असार । स्वास्थ्य बीमा बोर्डमा पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यू गर्न छानिएर तालीम समेत लिईसकेका १८० जना मेडिकल अधिकृतहरु मध्ये अधिकांश नियुक्ती पत्र लिने बेलामा पछि हटेका छन् । उनीहरुले बोर्डले तय गरेको कार्यविवरण र कार्य सम्झौँतालाई लिएर पछि हट्नु परेको बताएका छन् ।
बीमा बोर्डले गत १८ जेठमा १८० जना मेडिकल अधिकृतका लागि ९० दिनका लागि करार सेवामा नियुक्ती दिने भन्दै आवश्यकता सम्वन्धी सूचना जारी गरेको थियो । सो अनुसार आवेदन दिई, छनौट भई तालीम समेत लिई सकेका मेडिकल अधिकृतहरु कार्य विवरण र कार्य सम्झौँता संसोधनको माग राख्दै नियुक्ती पत्र बुझ्न नमानेका हुन् ।
मेडिकल अधिकृतहरुले कार्य विवरणको बुँदा नं ११ मा रहेको प्रत्येक कार्यदिनमा ४०० वटा दावीको मूल्यांकन वा रु २५ देखि ३० लाख रकमको मूल्यांकन पुरा गर्नुपर्ने लक्ष्यमा आपत्ति जनाएका हुन् । यस्तै १२ नम्बर बुँदामा रहेको नियमित कार्यदिन तोकिएको विहान १० देखि ५ बजेसम्मको सात घण्टा समयमा लक्ष्य पुरा गरेपछि बढीमा ४ घण्टा ओभरटाइम काम गर्न सक्ने विषयमा पनि असमति प्रकट गरेको उल्लेख गरेका छन् ।
यस्तै १८ नम्बर बुँदाको तोकिएको समयमा तोकिएको कार्य सम्पन्न नभएमा अन्य दिन कार्यगरी उक्त कार्य सम्पन्न गर्ने जिम्मेवारी मेडिकल अधिकृतको हुने र सो बापत कुनै थप आर्थिक सुविधा उपलव्ध नहुने भनिएको छ । त्यसमा पनि आफूहरुको असहमति रहेको मेडिकल अधिकृतहरुले बताएका छन् ।
‘यो अनुसार एउटा दाविको रिभ्यु १ मिनेट भित्रै गरिसक्नु पर्ने हुन्छ । कसरी सम्भव छ ? अहिले काम गरिरहेका अधिकृतहरुले दिनमा १५० भन्दा बढीको गर्न सकिदैन भनेर भन्नु भएको छ ?,’ कार्य विवरणमा संसोधन माग गरेका अधिकृतले भने ।
यता बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले कार्यदेशमा ४०० वटा वा २५ देखि ३० लाख सम्मको रिभ्यु गर्नु पर्ने भन्ने लक्ष्य ठूलो नभएको बताए । ‘यसअघि पनि मेडिकल अधिकृतहरुले साना तिना रिभ्यु गर्दा दिनमा ८०० देखि १००० पनि हुने गरेको छ । कोही रिभ्यु २० ३० वटा गर्दा नै २५ देखि ३० लाखसम्मको पुगि हाल्छ । यो भईरहेको काम हो । पहिलेका अधिकृतहरुले सहज ढंगले गरि नै रहेको काम हो,’ उनले भने ।
बोर्डले यसअघि १८० जना मेडिकल अधिकृत छनौट गरेपछि आयोजित तालीममा १५ जना अपुग भएपछि बैकल्पिक सूचीबाट थपेको थियो ।
तालीम सकेकाहरुलाई आज (बिहीबार) सम्म नियुक्ती पत्र लिन भनिएको समेत सूचना अधिकृत मल्लले जानकारी दिए । उनले तोकिएको अवधी भित्र नियुक्ती पत्र नलिए बैकल्पिकहरुले अवसर पाउने समेत बताए । यद्धपी उनले धेरै मेडिकल अधिकृतहरु नियुक्ती पत्र बुझिसकेको समेत दावी गरे ।
सम्पर्क इमेल : [email protected]