नागरिकलाई सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून सम्झाउँदै पाल्पाका जिल्ला प्रशासन र पालिका

पाल्पा, २५ असार । सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनेको कानून सम्झाउँदै जिल्ला प्रशासन कार्यालय पाल्पा र पूर्व खोला गाउँपालिकाले पालिकाले छुट्टा छुट्टै अनुरोध पत्र सार्वजनिक गर्र्दै आम सर्वसाधारणलाई सचेत बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले गत २३ असारमा सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को प्रभावकारी कार्यान्वयनका लागि साथ दिन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । सहायक प्रजिअ सुवेदीद्धारा जारी अनुरोध पत्रमा ऐनको दफा ११ लाई सन्दर्भ लिइएको छ ।
सो दफामा १८ वर्ष उमेर नपुगेको व्यक्ति, गर्भवती महिला खरीद बिक्री तथा प्रयोगमा सहभागी हुन निषेध गरिएको छ । साथै शिक्षण तथा स्वास्थ्य संस्था बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालयको कम्तिमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थको विक्री बितरण गर्न वा निशुल्क वितरण गर्न नपाईने भनिएको छ ।
प्रशासनले सोही व्यवस्थालाई अघि सार्दै उमेर नपुगेका बालबालिका, गर्भवती महिलालाई सुर्तीजन्य पदार्थको बेचविखन गरे कारवाही गर्ने बताएको छ । पछिल्लो समय स्कुले बालबालिका यस्तो कुलतमा लागेको गुनासो बढी आउन थालेपछि कानूनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने र अनुगमनलाई तिब्रता दिईन लागेको बताइएको छ । अनुरोध पत्रमा व्यापारी,व्यावसायी, पसलेहरुले कानूनी व्यवस्था बुझेर मात्रै कारोवार गर्न भनिएको छ ।

पूर्वखोला गाउँपालिकाको अर्को अनुरोध
उता सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि आफ्नै कानून बनाएर चर्चित पालिका पूर्वखोलाले पनि मंगलबार अनुरोध पत्र जारी गर्दै कानूनी व्यवस्थाको पूर्ण पालना गर्न भनेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जारी गरेको अनुरोधमा संघीय सरकारको ऐनसंगै पूर्वखोला गाउँपालिकाले बनाएको सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी ऐन २०८१ लागू भएको उल्लेख छ ।
गाउँपालिकाले पनि ऐनको परिच्छेद ३ को दफा ७ बमोजिम भएको व्यवस्था अनुसार १८ वर्ष नपुगेको व्यक्ति, गर्भवती महिलाहरुलाई सुर्तीजन्य पदार्थ पूर्ण रुपमा निषेध भएको भन्दै शिक्षण संस्था, स्वास्थ्य संस्था, यातायातका केन्द्रहरु, धर्मशाला, मनोरञ्जनस्थलहरु, नाचघर, होटल रेष्टुरेन्ट आदीमा सुर्तीजन्य पदार्थको बिक्री बितरण नगर्न र उक्त निषेधित क्षेत्रमा सेवन नगर्न भनिएको छ ।
गाउँपालिकामा नसर्ने रोगको संक्रमण बढदो क्रममा रहेकाले सो न्युनीकरणका लागि समेत कानूनको प्रभावकारी कार्यान्वयन गर्न लागिएको बताइएको छ । गाउँपालिकाले निगरानी बढाएको भन्दै कानूनको उल्लंघन भएको पाईए कार्वाही गरिने समेत उल्लेख छ ।
पूर्वखोला गाउँपालिकाले गत २६ पुसको गाउँ सभाबाट सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्वन्धी ऐन २०८१ जारी गर्ने निर्णय गरेको थियो ।

सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

