उपभोक्ता अदालतबाट एक पक्षीय आदेश आईरहेको भन्दै राष्ट्रिय चिकित्सक संघ गरायो न्यायपरिषद्को ध्यानाकर्षण
काठमाडौँ, १८ असार । नेकपा (एमाले) निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल(एनडीएएन)ले उपभोक्ता अदालतबाट चिकित्सकबिरुद्ध एकपक्षीय आदेशहरु आईरहेको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ ।
एनडीएएनका अध्यक्ष प्राडा विकास गौचन र महासचिव डा सम्राट पराजुलीले आज न्याय परिषद्को सचिवालयलाई पत्र बुझाउँदै उपभोक्ता अदालतको निर्णय गलत मनसायबाट अघि बढेको आरोप लगाएको छ ।
पत्रमा आफ्नो अधिकार क्षेत्र भित्र रहेर अदालतले गरेको निर्णयहरु पूर्ण रुपमा न्याय प्रदान गर्ने उदेश्य सहितको हुनुपर्छ भन्नेमा एनडीएएन स्पष्ट रहेको भन्दै तर पछिल्ला फैसलाहरुले चिकित्सकको संविधान प्रद्धत्त मौलिक हकहरु धारा १६ (सम्मानपूर्वक बाच्न पाउने हक) र धारा १८ (समानताको हक) हनन् भएको बताएको छ । उसले फैसलाकै कारण नेपाली चिकित्सकहरु स्वास्थ्य सेवा प्रदान गर्ने वा नगर्ने दोधारमा परेको समेत दावी गरेको छ ।
एनडीएएनले पत्रमा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मी, फार्मेसिष्ट तथा रेडियोग्राफर लगायत सबैको भूमिका हुने भन्दै चिकित्सकलाई मात्रै गल्ती देखाएर क्षतिपूर्तिको अदालतबाट आदेश हुनु आश्चय रहेको उल्लेख छ ।
यसैगरी पत्रमा कुनै पनि बिरामीको स्वास्थ्य सेवा पश्चात मृत्यु भएमा मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम अनिवार्य गर्नु पर्ने भन्दै मुख्य प्रमाण विना नै यसरी एक पक्षीय आदेश आएको हुनाले चिकित्सक माथि अन्याय भएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]