प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही विरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।
यसैगरी अस्पतालमा रहेको कुमारी बैङ्कका एक्सटेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०९ गते।
प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार)पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा निजले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थावाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका प्रतिवादी तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरसमेतका प्रतिवादीहरुले आफ्नो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतरसार्वजनिक संस्थाको सम्पत्ति हिनामिनारहानिनोक्सानी तथा दुरुपयोग गर्ने बदनियतले प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८०।०४।०१ देखि मिति २०८१।०४।३२ सम्मको अवधिमा संकलन भएको राजस्व रकम रु.३४,०३,८५६।५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु।८,३६,३३०र( (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी रू।२५,६७,५२६।५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) रकम हिनामिना गरे गराएको देखिएकोले (डाईग्राम चित्र-१ मा उल्लेख छ) प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
