सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार सरोज ढुङ्गेललाई

यो  पुरस्कार देशकै सबैभन्दा चर्चित पुरस्कार बनोस् : पूर्व स्वास्थ्य मन्त्री गिरी

काठमाडौँ, ८ असार । सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल पुरस्कृत भएका छन् ।

शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।

स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसर पारेर शनिबार आयोजित विशेष समारोहमा समारोहमा पत्रकार ढुङ्गेललाई पूर्व स्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य पदम गिरी, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा, सीईओ तेजकुमार बास्तोला र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

पुरस्कृत भएका ढुङ्गेल ढेड दशक बढी समय देखि गोरखापत्र दैनिकमा स्वास्थ्य सम्वाददाताको रुपमा कार्यरत छन् ।

स्वर्गीय सुदर्शन देवकोटा पेशाले पत्रकार थिए । उनले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।

बाबुको पत्रकारिता मोह र रुची, अनि आफू स्वास्थ्य सेवामा क्रियाशील भएपछि बाबु र आफ्नो पेशालाई मिलाएर फाउण्डेशनकी अध्यक्ष डा देवकोटाले स्वास्थ्य पत्रकार मञ्चसंग पुरस्कार वितरणका लागि सहकार्य गर्ने निर्णय गरेकी थिईन् ।

कोभिड – १९ को  पहिलो लहर पछिको मध्यान्तरको समयमा अर्थात पाँच वर्ष अघि स्वास्थ्य पत्रकार मञ्च नेपालसंग सहकार्य गरी स्वर्गीय देवकोटाको बार्षिक पुन्य तिथिका दिन यो पुरस्कार स्वास्थ्य पत्रकारलाई वितरण गर्ने गरी सम्झौँता भएको थियो । सोही अनुसार आज पाँचौं संस्करण भएको हो ।

‘पत्रकारिता मर्नु हुँदैन । यो मेरो बुबाको सिन्द्धान्त थियो । म पेशाले चिकित्सक भएँ । पत्रकारिता र स्वास्थ्यलाई मिलाएर केही गरौँ भनेर नै मञ्चसंग सहकार्य गर्ने अवसर जुट्यो । बार्षिक तिथिका दिन बुबालाई सम्झिने र क्रियाशिल स्वास्थ्य पत्रकारहरुका लागि प्रोत्साहित गर्ने काम पनि संगसंगै हुने भयो भनेपछि हामीले सहकार्यमा कामको थालनी गरेका हौँ,’ डा. देवकोटाले भनिन् ।

यो  पुरस्कार देशकै सबैभन्दा चर्चित पुरस्कार बनोस् : पूर्व स्वास्थ्य मन्त्री गिरी

यसैबीच कार्यक्रममा प्रमुख अतिथि बनेर आएका पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पदम गिरीले सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार देशकै चर्चित पुरस्कार बनेको आफूले हेर्न चाहेको बताएका छन् ।

‘बुबाको पुन्य तिथिलाई सन्तानहरुले यसरी पनि सम्झिन सक्दा रहेछन् भन्ने एउटा ज्वलन्त उदाहरण डा. देवकोटा र उहाँको परिवार बन्नु भएको,’ भन्दै पूर्व स्वास्थ्य मन्त्री गिरीले अगाडी थपे, ‘यस कदमले स्वास्थ्य पत्रकारिता क्षेत्रलाई नै प्रोत्साहित गर्ने विश्वास लिएको छु ।’

आफू ४५ दिन स्वास्थ्य मन्त्री बन्दा खेरी स्वास्थ्य पत्रकारसंग सल्लाह सुझाव लिएरै अघि बढेको त्यसले आफूलाई राम्रो गर्न खोज्ने स्वास्थ्य मन्त्रीको छवि बनाएको बताए । उनले पत्रकारिता सधै वाच डगको रुपमा रहने भन्दै जिम्मेवार पत्रकारितामा समेत जोड दिए ।

फाउण्डेशनकी अध्यक्ष डा. सुधा देवकोटाले आफ्नो बुबाले गर्ने पेशालाई सम्मान गर्दै यो पत्रकारितामा पुरस्कार स्थापना गरेको बताईन् । उनले पत्रकारिता जिम्मेवार ढंगले सत्य तत्थ्यमा आधारित हुनुपर्नेमा जोड दिदै फाउण्डेशनले स्वास्थ्य पत्रकारिताको स्तरलाई अझ मजवुत बनाउनका लागि तालीम तथा बृत्तिविकासमा समेत लाग्ने बताईन् । उनले पत्रकार भनेपछि डराउनु पर्ने अवस्था आएको चर्चा गर्दै पत्रकारसंग ढुक्क महसुस गर्ने दिनको परिकल्पना गरिन् । ‘अहिले पत्रकार भनिसकेपछि कर्मचारी बृत्तमा डर मान्ने अवस्था पनि छ । तर म चाहन्छु हामी स्वास्थ्यकर्मीहरुले हाम्रा आवाज बोलिदिने यिनै पत्रकारहरु हुन भनेर ढुक्क महसुस गरुन, यस्तो दिन आओस भन्ने कामना गरेको छु । त्यसका लागि हामीले पत्रकारिताका इथिक्स देखि अरु प्राविधिक पक्षका तालीम लगायतका विषयमा थप गृहकार्य गर्न सहयोग पुरयाउने छौँ ‘ उनले भनिन् ।

कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले स्व. देवकोटाको योगदानको स्मरण गर्दै ‘पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी रहेको बताए । उनले साँचो पत्रकारिताले नीति निर्माणमा सकारात्मक दबाब दिन सक्छ’, उनले भने । पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतिका रूपमा आइरहेको तर अन्ततोगत्व मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने उनको बुझाई थियो । उनले स्वास्थ्य पत्रकारिता जोखिमपूर्ण पत्रकारिता हो भन्दै यसलाई प्रोत्साहित गर्न शारदा सुदर्शन फाउण्डेशन लागेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका सल्लाहकार रामप्रसाद न्यौपानेले फाउण्डेशनसंग मञ्चले गरेको सहकार्यको चर्चा गर्दै यस्ता पुरस्कारले पत्रकारहरुका लागि प्रोत्साहन थपिने बताए । उनले स्वास्थ्य फाउण्डेशनले पुरस्कार मात्रै नभई तालीम तथा अभिमुखीकरण र पेशागत दक्षताका लागि टेवा दिने गतिविधि अगाडी बढाउनेमा समेत आफू विश्वस्त रहेको बताए ।

पुरस्कृत ढुङ्गेलले आफ्नो स्वास्थ्य पत्रकारिता यात्रा १८औँ वर्षमा रहेको र स्व। देवकोटाको १८औँ पुण्यतिथिमा ‘स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्राप्त गर्दा गौरव महसुस गरेको बताए । ‘मैले स्वास्थ्य पत्रकारिता सुरु गरेको १८ वर्ष पुगेको छ । स्वर्गीय देवकोटाको १८ औँ पुण्यतिथिमा उहाँकै नाममा स्थापित पुरस्कार प्राप्त गर्दा गौरवान्वित भएको छु’, उनले भने, ‘यसले मलाई अझ जिम्मेवार र निष्ठावान् बन्न प्रेरणा दिएको छ।’

कार्यक्रमको अध्यक्षता गरेका स्वास्थ्य पत्रकार मञ्च नेपालका कार्यवहाक अध्यक्ष  बुद्धि कटेलले फाउन्डेसनले स्वास्थ्य पत्रकारिता विधालाई समेटेर स्वास्थ्य पत्रकार मञ्चसँग सहकार्य गरी ‘सुदर्शन देवकोटा स्मृति राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारु स्थापना गरेकोमा आभार व्यक्त गर्दै यो पुरस्कार स्वास्थ्य क्षेत्र र पत्रकारिता जोड्ने पुल भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *