अस्पताल सञ्चालकहरुका लागि आयोजित एक दिने नेतृत्व विकास सम्बन्धि कार्यशाला सम्पन्न

काठमाडौँ, २५ जेठ । अस्पताल सञ्चालकहरुका लागि आयोजित एक दिने नेतृत्व विकास सम्बन्धि कार्यशाला शनिबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को संयुक्त आयोजनामा सो कार्यशाला भएको थियो ।

खासगरी नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास कसरी गर्ने भन्ने बारेमा कार्यशाला केन्द्रीत थियो ।

कार्यक्रमको उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पौडेल पुगेका थिए । सो अवसरमा उनले अस्पतालको पुनर्संरचना गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक पटक छलफल भए पनि मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारीमा अझै पनि दुविधा भएको बताए।

घोषणा पत्रमा स्वास्थ्य पहिलो प्राथमिकता भनिए पनि लामो समय देखि दरबन्दी सृजना गर्न र ओएनएम गर्न नसकिएको बताए। नेपालमा सरकारी स्वास्थ्य सेवामा क्यान्सर, मुटु, मिर्गौला रोग विशेषज्ञ कम भएका कारण सातै प्रदेशमा स्वास्थ्य सेवा पुर्‍याउँन नसकिएको बताए।

स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्य संस्थाको व्यवस्थापकीय जिम्मेवारी सरकारको भएकाले मेसुलाई व्यवस्थापकीय जिम्मेवारी सहित सेवामा लगाउने वा व्यवस्थापकलाई अधिकृत भन्दा माथि हुने गरी संरचना तयार गर्ने गरी आफ्नै कार्यकालमा सो काम सम्पन्न गर्ने बताए।

उनले भने ‘२५ सयको ओएनएम गरिदै छ। ८ सय डाक्टर १२ सय नर्स थप्दै गर्दा १९ अस्पतालमा १९ व्यवस्थापकीय जनशक्ति थप्ने गरी काम भइरहेको छ । छुट्टै स्वास्थ्य सेवा ऐन ल्याइदै छ भन्दै त्यसले धेरै कुराको सम्बोधन गर्नेछ ।’

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्रराज भुसालले अस्पतालका अधिकांस समस्या अस्पतालका व्यवस्थापकीय समस्या भएको बताए । उनले अहिले भएकै ऐनले व्यवस्थापक राख्न सकिने बताउदै, ५० शैया भन्दा बढी अस्पतालमा व्यवस्थापक राख्न सकिने बताए। नेपाल सुँहाउदो ऐन सुधार गर्ने र सरकारी र निजी दुबैमा लागु हुने व्यवस्था गर्न आग्रह गरे।

कार्यक्रममा अफिनका अध्यक्ष डा पदम खड्काले सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापक हुनु पर्नेमा जोड दिदै अस्पतालको मापदण्ड निजी तथा सरकारी दुबैले कार्यान्वयन गर्न सक्ने हुनुपर्ने बताए।

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका महासचिव डा होम प्रसाद अधिकारीले स्वागत मन्तव्य दिदै कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

निक साइमन्स ईन्स्टिच्युटका डा जनार्धन पाठकले सरकारी स्वास्थ्य संस्थामा हेल्थ केयर मेनेजरको उपस्थिति कस्तो छ भन्ने बारेमा प्रस्तुति दिएका थिए ।

उनले ५० जना हस्पिटल केयर मेनेजरले सरकारी संस्थामा काम गरिरहेको जानकारी दिए। न्युनतम सेवा मापदण्डमा ८० नं भन्दा माथि ल्याएका २४ मध्ये २२ अस्पतालहरुमा भने अस्पताल व्यवस्थापक अधिकृत रहेको पाइएको बताए।

कार्यशालाका प्रमुख प्रशिक्षक डा बच्चु कैलास कैनीले अस्पतालको व्यवस्थापनले लगानी गर्दा वा संचालन गर्दा के कस्ता तयारी गर्नुपर्छ भन्ने विषयमा प्रशिक्षण दिदै विभिन्न १६ महत्वपूर्ण कुरामा ध्यान दिनु पर्ने बताए।

उनले हस्पिटल बोर्ड गभर्नेन्स प्लानिङ तथा अपरेसन जस्ता महत्वपूर्ण रहेको भन्दै अस्पतालको सञ्चालनमा बोर्डको महत्वपूर्ण भूमिका भएको बताए। संस्थामा काम गर्ने हरेक व्यक्तिले आफ्नोपन हुने वातावरण हुनुपर्नेमा जोड दिए। उनले नेतृत्व गर्ने हरेक व्यक्तिमा ज्ञान, सीप र आत्मविश्वास हुनुपर्ने बताए।

डा कैनीले बेलायतको उदाहरण दिदै त्यहाँ ७८ प्रतिशत अस्पताल व्यवस्थापकले चलाउने गरेको बताए । बेलायतमा अस्पतालको व्यवस्थापनमा जाने डाक्टरले तालिम लिएर आउनुपर्ने र पूर्णकालिन हुनुपर्ने भन्दै उनले नेपालमा भने अस्पतालको प्रमुख डाक्टर मात्र हुने चलन रहेको बताए ।

नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण कुरा भनेको सेल्फ लिडरसिम सबै भन्दा महत्वपूर्ण कुरा भएको बताउदै त्यस्तै टिम लिडरसिप र संस्थागत लिडरसिप महत्वपूर्ण भएको उल्लेख गरे।

स्ट्राटिजिक प्लानिङ भनेको हामी कहाँ छौ ? हामी कहाँ पुग्ने हो ? र कसरी पुग्ने भन्ने यसको मुख्य भएको बताए। योजना बनाउदा के गर्ने भने जस्तै के नगर्ने भन्ने पनि उत्तिकै महत्वपूर्ण भएको बताए।

डा कैनी एआरयूमा स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्वका वरिष्ठ व्याख्याता हुन्।

उनी उच्च शिक्षा प्रतिष्ठानका वरिष्ठ फेलो र बेलायतको रोयल सोसाइटी अफ पब्लिक हेल्थका फेलो हुन्। बेलायत र नेपालमा स्वास्थ्य सेवाहरूको व्यवस्थापन र नेतृत्व गर्ने काममा उनीसँग ३२ वर्षभन्दा बढीको अनुभव रहेको छ।

कर्पोरेट लयर्स सृजना अधिकारीले अस्पताल व्यवस्थापन र संचालनका लागि के कस्ता सामान्य ऐन कानुन, नियमावली सम्झौता जस्ता कुराहरुबारे जानकारी लिनुपर्छ भन्दै अस्पताल संचालकले सामान्य कानुन र स्वास्थ्य सेवाका विविध कानुनबारे जानकार हुनुपर्ने विषयमा प्रस्तुती दिएकी थिइन्।

चार्टर एकाउन्टेन्ट समित घिमिरेले अस्पताल व्यवसायमा फाइनान्स व्यवस्थापनको के कस्ता समस्याहरु रहेका छन् भन्ने विषयमा आफ्नो प्रसतुति दिदै तथ्यांक विष्लेषण भन्दा आफ्नो परम्परागत अनुभवका आधारमा सेवाको मुल्य राख्ने प्रचलन रहेकाले फाइनान्सका हिसाबले सबै अस्पतालले एकैखाले समस्या भोगिरहेको बताए।

कार्यक्रमको दोस्रो सत्रमा नेपालमा अस्पताल संचालनमा के कस्ता समस्या रहेका छन् यस्तो समस्या समाधानका उपाए के कस्ता हुन सक्छन् भन्ने विषयमा सहभागीहरुको चार समुह बनाएर छलफल गरी समुहगत प्रस्तुति गरिएको थियो चार समुहको प्यानलमा डा मुनिराज क्षेत्री, धर्म राज घोसाई, राजेश प्रसाई र डा पदम खड्काले गरेका थिए।

टेक्निकल सेसनको सार्वजनिक तथा निजी स्वास्थ्य संस्था सञ्चालक समिति र म्यानेजरहरुको रणनीतिक नेतृत्वमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *