अतिरिक्त स्वास्थ्य सचिव बढुवामा किन ढिलाई ?
काठमाडौँ, १३ जेठ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई जनालाई सचिवमा बढुवा र चारजना सचिवको सरुवा गर्ने निर्णय हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त सचिव पदको विषयमा पनि खबर सार्वजनिक होला भन्ने धेरैको अनुमान थियो । तर, अनुमान अनुसार विषय सार्वजनिक भएन । कारण थियो, बढुवाको लागि सिफारिस नामहरु मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नै नपुग्नु ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले गत १ जेठमा नै रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा. केशरबहादुर ढकाल (अब्स गाइने) प्रादेशिक अस्पताल सुर्खेत, डा. श्रीकृष्ण श्रेष्ठ – पेडियाट्रिसियन, (पेडियाट्रिक्स) पोखरा र डा. सुधा देवकोटा (प्रमुख मेडिकल सुपरीटेन्डेन्ट) स्वास्थ्य सेवा विभाग रहेका छन् ।
मन्त्रालय उच्च स्रोतका अनुसार बढुवा समितिले नाम सिफारिस गरे पनि मन्त्रिपरिषद्मा बढुवाका लागि प्रस्ताव गईसकेको छैन् । ‘सिफारिस सम्वन्धी निर्णय भएको तीन दिन पछि मन्त्री ज्यू विदेश जानु भयो, आएपछि पनि सो विषय विर्से जस्तो भयो,’ स्रोतले भन्यो, ‘तर अब आउने बैठकमा पक्कै जान्छ होला, यो विषयलाई मन्त्री ज्यू स्वयंले पनि चासो लिनु भएको छ ।’
यसअघि १२ औँ तहमा बढुवाका लागि खोलिएको आवेदनमा २४ को परेको थियो । ती मध्ये २३ जनाको मूल्यांकन गर्दै तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । आवेदन दिनेहरुको संख्या २४ भए पनि डा. डेलासिह जोशी (गाईने, अब्स) ले आफ्नो आवेदन फिर्ता लिएपछि प्रतिस्पर्धा २३ जनामा खुम्चिएको थियो ।
अतिरिक्त स्वास्थ्य सचिव नहुँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएका छन् ।
सम्पर्क इमेल : [email protected]