महालक्ष्मी नगरपालिका बन्यो पूर्णखोप सुनिश्चिता पालिका

ललितपुर, १२ जेठ । महालक्ष्मी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार नगरपालिकाको वडा नं ८ लुभुस्थित देवीस्थानमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव तथा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसपछि नगरप्रमुख श्रेष्ठले सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

महालक्ष्मी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीका अनुसार नगरपालिका भित्र १५ महिनाका ८३८ जना बालबालिका रहेका छन् । १६ देखि २३ महिना बालबालिकाहरुको संख्या ७१४ रहेको छ ।

खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाहरुले सरकारले उपलव्ध गराएको १३ वटा खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र दिईएको हो ।

 

कसरी हुन्छ पूर्णखोप सुनिश्चितता ?
पालिकाका जनस्वास्थ्य निरीक्षक भरत बोहराका अनुसार गत २३ पुसमा पालिकास्तरको पूर्णखोप समन्वय समितिको बैठक बसेको थियो । यसैगरी २६ पुस देखि वडास्तरको पूर्णखोप समन्वय समितिको बैठक बसेको थियो ।

पालिकास्तरमा नगरप्रमुख र वडामा वडाध्यक्षको अध्यक्षतामा बैठक बस्ने व्यवस्था छ । १० वटै वडामा तालीम पश्चात पालिकाले माघ, फागुन र चैत महिनामा १० वटै वडामा घरधुरी सर्वेक्षण गरिएको थियो । सो क्रममा ४ जना बालबालिका खोप छुटेको पाईएको थियो । उनीहरुलाई छुटेको खोप दिएपछि वडास्तरबाट पूर्ण खोप सुनिश्चिता भएको घोषणा हुँदै पालिका स्तरमा पुगेको हो ।

खोप शाखा प्रमुख ज्ञवालीका अनुसार पूर्ण खोप दावी गरिएका वडाहरुमा सामाजिक विकास समिति संयोजक बाबुराजा महर्जनको अध्यक्षतामा गठित खोप सर्वेक्षण समितिले पुन निरीक्षण गरेको थियो । त्यसपछि जिल्ला खोप समन्वय समितिका संयोजक ऋषिदेव फुयालको संयोजकत्वमा पुन रेण्डम सर्भेक्षण भएको थियो । वडाहरुको दावी र सर्भेक्षणबाट समेत खोप लगाउन छुटेको छैन भन्ने सुनिश्चिता भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

यसैबीच आइतबार घोषणा सभामा बोल्दै नगरप्रमुख श्रेष्ठले पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै बधाई दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्षहरु, विभिन्न शाखा प्रमुखहरु, कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *