‘समयमै पत्ता लगाई उपचार गर्न सके जटिल हुँदैन थाइराइड समस्या’

388
Shares

काठमाडौँ, १० जेठ । समयमै पत्ता लाग्यो र सहि उपचार भयो भने थाइराइड जटिल समस्या नहुने चिकित्सकहरु बताउँछन् ।  तर, अधिकांश नेपालीहरुको बानी स्वास्थ्यमा समस्या नआउँदासम्म जाँच नगर्ने रहेको छ । यस्तो बानीले नेपालमा यो समस्याले विकराल रुप लिएको उनीहरु दावी गर्छन् ।

विश्व थाइराइड दिवसको सन्दर्भ पारेर डाइबेटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिईएन)ले शनिबार गरेको पत्रकार सम्मेलनमा विज्ञ चिकित्सकहरुले नेपालीमाझ डाइराइडको बारेमा सचेतना बढी आवश्यक भएको बताए ।

‘थाइराइड खासमा रोग नै पनि होईन, हर्मोनमा आउने गडबडीले देखिने एक समस्या हो, त्यसलाई नियन्त्रण गर्न सकेपछि समस्या नै हुँदैन,’ एसोसिएसनका अध्यक्ष डा. अमित शाक्यले भने ।

उनले हर्मोनमा आउने गडबडी रोक्न आफैले सतर्कता अपनाउन सकिने समेत सुनाए । ‘तनाव लिन भएन, तौललाई नियन्त्रण गर्नु परयो । यसले थाइराइड मात्रै होईन अरु थुप्रै नसर्ने रोगको जोखिमको सम्भावनाबाट बचाउँछ,’ डा. शाक्यले भने ।

एसोसिएसनका महासचिव डा भोजराज अधिकारी कुल जनसंख्याको ८ देखि १० प्रतिशतमा थाइराइड हुने गरेको भन्दै तर त्यसमध्ये ५० प्रतिशतको मृत्यु पत्ता नै नलागी हुने गरेको बताउँछन् । उनले पुरुषमा भन्दा महिलामा बढी थाइराइडको समस्या हुने बताउँदै अनुपात १ः ८ को अनुपात रहेको बताए । थाइराइड शरीरको मल्टी सिस्टम असर गर्ने समस्या भन्दै यसको जति सक्दो छिटो पहिचान र उपचारमा जानु पर्ने बताए ।

अर्का चिकित्सक डा. सन्तोष शाक्यले हाईपो र हाईपर गरी थाइराइड समस्या मुख्यरुपमा दुई खालको हुने भन्दै उपचार अवधीमा पनि फरक हुने बताए । ‘हाईपरमा थाइराइडको हार्मोन बढी हुने भयो यसलाई कम गरेर व्यालेन्समा ल्याउनु पर्छ । हाईपोमा कम हार्मोन हुने भयो यसलाई औषधी चलाउने र बढाउने अनि व्यालेन्समा ल्याउने गर्नुपर्छ । उपचारका सन्दर्भमा हाईपरमा केही समय औषधी सेवन पछि रोक्न पनि सकिन्छ तर हाईपोमा भने जीवनभर औषधी खानुपर्छ ‘ डा. शाक्यले भने ।

उनले तरकारी तथा खानपानबाट थाइराइड घटबढ् नहुने समेत जानकारी दिए । ‘हामीले खाने खानाकै कारण थाइराइड हुँदैन । तर खानपिनबाट मोटोपना हुने, त्यसपछि डाइविटिज, हाईपोटेन्सनसंगै थाइराइड पनि देखिन भने सक्छ । यसमा सचेत हुनुपर्छ,’ उनले भने ।

यसैबीच एसोसिएसनले दिवसको अवसरमा आ आफ्नो क्षेत्रमा सचेतनामुलक कार्यक्रम संगै निशुल्क तथा छुट सहितको स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “‘समयमै पत्ता लगाई उपचार गर्न सके जटिल हुँदैन थाइराइड समस्या’

  1. राम्रो चेतनामुलक तथा शिक्षामुलक प्रेस मिट गर्नु भएको मा धन्यबाद छ। हार्दिक शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *