औषधी व्यवस्था विभागका कर्मचारीमाथि कुटपिटकको घटनाप्रति फार्मेसी संघको आपत्ति

सरकारसंग राख्यो ६ बुँदे माग

काठमाडौँ, ७ जेठ । नेपाल फार्मेसी संघले अनुगमन गर्न गएका औषधी व्यवस्था विभागका कर्मचारीमाथि रौतहटको राजपुर नगरपालिका – ४ मा गत सोमबार भएको आक्रमणको भत्सर्ना गरेको छ ।

संघले घटनालाई आपराधिक भन्दै सम्लग्न व्यक्ति तथा समूहमाथि छानविन गरी हदैसम्मको कार्वाही गर्न माग समेत गरेको छ ।

संघका महासचिव युवराज भुसालले आज जारी गरेको विज्ञप्तीमा यस्ता घटनाले राष्ट्रसेवक कर्मचारी तथा अनुगमनमा खटिएका फार्मासिष्टहरुको मनोवलमा नकारात्मक असर पार्ने र अराजक तथा आपराधिक प्रबृत्तिको हौसला बढाउने भएकोले निरुत्साहितका लागि कडा कानूनी कार्वाही आवश्यक भएको उल्लेख छ ।

विज्ञप्तीमा घटनाको पृष्टभूमीले अवैध रुपमा सञ्चालित फार्मेसीबा औषधी कारोबार भएको पुष्टि भएको भन्दै यस्ता पसलमा औषधी आपूर्ति गर्ने थोक विक्रेता समेतलाई औषधीको दुरुपयोग सम्वन्धी कसुर अन्तर्गत कारवाही गर्न भनिएको छ ।
विज्ञप्तीमा संघले छ बुँदे माग समेत अघि सारेको छ ।

ती मागहरुमा सम्पूर्ण अवैध औषधी पसलहरु तत्काल खारेज गर्नु पर्ने, ती अवैध पसलहरुलाई बिलिङ गर्ने थोक विक्रेतालाई कानुनी दायरामा ल्याई कडा कारवाही गर्नु पर्ने, नागरिकले गुणस्तरीय फार्मेसी सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने रहेका छन् । यस्तै फार्मासिष्टहरुको पेशागत अधिकार सुरक्षा गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, अराजकता र दण्डहिनताको अन्त्य गर्नुपर्ने लगायतका छन् ।

विभागका वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख शम्भु साहको नेतृत्वमा रौतहट अनुगमन गर्न पुगेको टोलीमाथि सोमबार राजपुर क्षेत्रमा आक्रमण भएको थियो । स्थानीयहरुले फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा माथि आक्रमण गर्दै लखेटेका थिए ।

स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौ देखि विना दर्ता फार्मेसी पसल चलाईरहेको उजुरी परेपछि निरीक्षणका लागि टोली त्यस तर्फ पुगेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *