पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, बस्नेतको सांसद पद निलम्बन

काठमाडौँ, १ जेठ । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरीद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत सहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालले आज विशेष अदालतमा बस्नेत सहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्धारा जारी विज्ञप्तीमा टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरेर त्यसैलाई छनौट गरी बस्नेत सहितको टोलीले ठूलो रकम घोटाला भएको छ । बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले बस्नेतसहितका प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्धा दायर गरेको छ ।

को को माथि पर्‍यो मुद्धा ?

अख्तियारद्धारा दायर मुद्धामा तत्कालीन सञ्चार मन्त्री बस्नेतसहित नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) एवम् संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र जरिवाना गरी बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।

यस ऐन बमोजिम एक करोडभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि सोही अनुसार जरिवाना गरी आठ वर्षदेखि दस वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

यसैबीच अख्तियारले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेसंगै पूर्वमन्त्री बस्नेतको सांसद पद समेत निलम्बन भएको छ । बस्नेत गत निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

उनी २०८० बैशाख २० गते देखि २०८० फागुन २१ गतेसम्म स्वास्थ्य मन्त्री बनेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *