डा. सञ्जय ठाकुरमाथि भ्रष्टाचारको आरोप, एक करोड ८४ लाख बढी बिगो कायम गरी अख्तियारद्धारा मुद्धा दायर

काठमाडौँ, २१ बैशाख । नारायणी अस्पतालका तत्कालीन निर्देशक डा सञ्जय ठाकुरमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले डा ठाकुरसहितको समूहलाई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्धा दायर भएको जनाएको छ ।

डा ठाकुरबिरुद्ध सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानी नोक्सानी पुर्‍याएको उजुरी अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाइएको आयोगले बताएको छ ।

‘कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एम एम ३५ इन्टर ब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानी नोक्सानी गरेको र प्रतिस्पर्धालाई सीमित हुनेगरी बोलपत्रमा योग्यताका आधार तोकिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आब २०७७/०७८ मा नारायणी अस्पताल वीरगंजको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्ट लकिङ टायललाई भवन निर्माणको मुख्य आइटमको रुपमा समावेश गरेको पाइएको छ,’ आरोप पत्रमा उल्लेख छ ।

यस्तै शिवाको/विकास एण्ड ब्रदर्स/वि.जी. जे.भी.ले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा ग्रे कलर को इन्टरलक ब्लकको काम गरेको देखाए तापनि अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको र सोही अति सामान्य कुरालाई मूल्याङ्कानमा ‘ ग्रेड इज नट मेन्सन्ड एन्ड अल्सो इट इज नट मल्टि-ब्लाइन्डर्ट कलर ब्लक’ भन्ने व्यहोरा उल्लेख गरी लक्षित बोलपत्र बाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको देखिएको छ।

स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्र सम्बन्धी कागजात तयार गरी कुनै एक मात्र लक्षित निर्माण व्यवसायी सफल हुने गरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी गराई नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानूनी हानिनोक्सानी पुर्‍याएको बताइएको छ।

अख्तियारले प्रमुख ठाकुर सहित अरु पाँच जनाविरुद्ध पनि मुद्धा दायर गरेको छ ।

मुद्धा पर्नेहरुमा शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर म. सकुर अन्सारी, नारायणी अस्पताल वीरगंजका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी रहेका छन् । उनीहरुमाथि पनि डा ठाकुरकै सरह विगो कायम गरिएको छ ।

यस्तै मूल्याङ्‍कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारीक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जे.भी. रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *