स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको सेवा जहाँ नजिक पर्छ त्यहाँबाट लिन सकिने, स्वास्थ्य बीमा सुविधा लिन तीन महिना कुर्न नपर्ने

काठमाडौँ, १८ बैशाख । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् ।
आफू रहेकै स्थानमा प्रथम सेवा बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव बुधबार (हिजो) बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि यो विमितले सुविधा लिन पाउने भएका हुन् ।
यसअघि बीमितले स्वास्थ्य बीमामा आवद्ध हुँदा तोकेको प्रथम सेवा विन्दुमा देखाएर आवश्यक परेमा मात्रै थप उपचारका लागि सूचीकृत अस्पतालमा सेवा लिन पाउँथे ।
स्वास्थ्य मन्त्री पौडेलले बुधबारको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य बीमा नियमावली संसोधन गरेपछि स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने भएको जानकारी दिए ।
स्वास्थ्य बीमा बोर्डका कार्यकरी निर्देशक डा रघुराज काफ्लेले संसोधित नियमावली स्विकृति पछि बीमितले आफू बसेकै ठाउँको प्रथम सेवा विन्दुमा गई स्वास्थ्य बीमा सेवा अघि बढाउन सक्ने बताए । ‘बीमितले जहाँबाट स्वास्थ्य बीमामा आवद्ध भए पनि बसेको ठाउँको नजिकको प्रथम सेवा विन्दुमा गएर बीमा सुविधा लिन सक्ने भयो । पहिले जस्तो तोकिएकै ठाउँमा जानु पर्ने अवस्थाको अन्त्य भयो,’ उनले भने ।
यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
यसैगरी, मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।
‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संसोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।’
यसैगरी, संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



