पीजीलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिईने शिक्षा मन्त्रालयको प्रतिवद्धतामा आन्दोलनरत चिकित्सकहरुको आशंका

चिकित्सक संघका अध्यक्ष भन्छन्, आठौँ तह खोई ?

काठमाडौँ, १६ बैशाख । निजी मेडिकल तथा डेन्टल कलेजले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय बमोजिम आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने प्रतिवद्धता जनाए पछि नेपाल चिकित्सक संघले भने त्यसमा सहमत नभएको बताएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ती जारी गर्दै मंगलबार शिक्षा मन्त्री रघुजी पन्तसंग एसोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले भेट गरी १६ औँ बैठकको निर्देशन अनुसार पीजीको निर्वाह भत्ता मासिक ४८ हजार ७३७ रुपैयाँ दिने प्रतिवद्धता जनाएको उल्लेख गरेका थिए ।

तर नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले १६ औँ बैठकको मर्म अनुसार प्रतिवद्धता नआएको भन्दै सहमत हुन नसकिने बताए । उनले निर्वाह भत्ता नेपाल सरकारले तोकेको मेडिकल अधिकृत (आठौँ तहको तलव) सरहको हुनु पर्ने आफुहरुको माग रहेको दोहोरयाए । ‘अहिले आठौँ तहको तलव ४८ हजार ७३७ रुपैयाँ छ । अब आठौँ तहको तलव बृद्धि हुँदा सोही अनुसार बृद्धि हुनुपर्छ । शिक्षा मन्त्रालयले तह उल्लेख नगरी रकम उल्लेख गरेको छ । यसमा किन तह उल्लेख गरिएन, विषय शंकास्पद छ । त्यसलै हामीलाई मान्य छैन’ उनले भने ।

निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरु सरकारी कलेज नभएकोले तह अनुसारको कुरा नहुने बताए । ‘हामीलाई सरकारी तह र स्केल के कस्तो भन्ने थाहा छैन । निर्वाह भत्ता विश्वविद्यालयले तोक्ने हो । यसपटक विश्वविद्यालयले ४८ हजार ७३७ रुपैयाँ तोकेको हुनाले त्यसमा राजी भएका हौँ’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *