वरिष्ठ मनोचिकित्सक प्राडा वझाद्वारा लिखित पुस्तक ‘मनोस्वास्थ्य’ सार्वजनिक

काठमाडौँ, ३१ चैत । बरिष्ठ मनोचिकित्सक एवं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राडा सरोजप्रसाद वझाद्वारा लिखित पुस्तक ‘मनोस्वास्थ्य’ सार्वजनिक भएको छ । गत शुक्रबार राजधानीमा एक समारोहबीच पुस्तक सार्वजनिक भएको हो ।
आफ्नो २५ वर्षको अनुभवलाई समेटेर ‘मनोस्वास्थ्य’ पुस्तक लेखिएको उनले बताएका छन्। पुस्तकमा मानसिक स्वास्थ्यका समस्याहरु, मनोसामाजिक अवस्था, मानसिक रुपमा कसरी स्वस्थ रहने लगायतका विषय समावेश गरिएको बताइएको छ।
विमोचन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्मा, पाटन अस्पतालका निर्देशक तथा मनोचिकित्सक डा रवि शाक्य र वरिष्ठ मनोचिकित्सक डा देशराज बहादुर कुँवर, हास्य कलाकार मनोज गजुरेललगायतले पुस्तक सार्वजनिक गरेका हुन्।
सो अवसरमा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले हाम्रो समाजमा जगडिएर बसेको मानसिक स्वास्थ्यका समस्या पहिचान गर्न र बिरामीलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन पुस्तक निकै लाभदायक रहेको बताए ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा मोहनराज शर्माले पुस्तक लेख्नु सहिजो काम नभएको बताउँदै डा वझाको कार्य प्रशंसायोग्य भएको बताए ।
उनले पुस्तक आम समुदायका लागि मात्र नभएर चिकित्सा क्षेत्रका विद्यार्थीहरुका लागि पनि लाभदायक भएको डा. शर्माले बताए ।
यता पाटन अस्पतालका निर्देशक समेत रहेका बरिष्ठ मनोचिकित्स डा. रवि शाक्य र वरिष्ठ मनोचिकित्सक डा. देशराज कुवर पुस्तकले पुस्तकले समाजमा मानसिक स्वास्थ्यका विषयमा जनचेतना जगाउने विश्वास व्यक्त गरे ।
हास्य कलाकार मनोज गजुरेलले पछिल्ला दिनमा समाजिक सञ्जाल मार्फत भाइरल बन्ने प्रवृति पनि एक किसिमको मनोरोग नै भएको बताउँदै यसको लतबाट बच्नु पर्नेमा जोड दिए ।
पुस्तकका लेखक डा. वझाले मानसिक स्वास्थ्यको अवस्था विकिराल भएको बताउदै नेपालमा मात्रै दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । पुस्तक लेख्न आफुलाई १० महिना लागेको डा. वझाले जानकारी दिए ।
कार्यक्रममा डा. वझाकी धर्मपत्नी एवं स्त्री रोग विज्ञ डा. निभा वझाले अझै पनि मानसिक रोग लुकाएर बस्ने प्रवृति विद्यमान रहेकोले यस किसिमका पुस्तकले जनचेतना विस्तारका क्षेत्रमा योगदान पुग्ने बताइन ।
इटर्नल पब्लिकेसनले प्रशसन गरेको यो पुस्तकको मूल्य ५०० रहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
