‘एमबीबीएसका लागि छात्रबृत्ति उपलव्ध गराउँदै कनकासुन्दरी गाउँपालिका

20
Shares

जुम्ला, २२ कात्तिक । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए ।

गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले रु २३ लाख प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप रु एक लाख छात्रवृत्ति प्रदान गरेको छ ।
बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन्। बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए । रासस

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *