१० लाख रुपैयाँको प्रलोभनमा पारी भारत पुर्याई मिर्गौला बेच्ने दुई जना पक्राउ

काठमाडौँ, १२ भदौ । १० लाख रुपैयाँको प्रलोभन देखाई एक जना व्यक्तिलाई भारतको कलकत्ता पुर्याएर मिर्गौला बेचबिखन गरेको आरोपमा दुई जना नेपाली पक्राउ परेका छन् ।
पिडीतको उजुरीको आधारमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले ललितपुर महालक्ष्मी नगरपालिका ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका २ की ४२ बर्षीया शान्तिमाया घलानलाई पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका ती पीडितलाई गिरोहले मिर्गौला बिक्री गरेमा १० लाख रुपैयाँ कमाउन सकिन्छ, शरीरमा दुईवटा मिर्गौला हुने भएकोले एउटा झिके पनि अर्कोले राम्रोसंग काम गर्न सक्छ, केही समस्या हुँदैन बरु मिर्गौला दिएमा धर्म हुन्छ भनेर प्रलोभनमा पारेको ब्युरोले जनाएको छ ।
गिरोहले पीडितको स्वास्थ्य परीक्षण समेत काठमाडौँमा गराई बीरगञ्ज जाने सुमो चडाई वीरगञ्जबाट कलकत्ता पुरयाएको थियो । त्यहाँ पुगेपछि पीडितले मिर्गौला नदिने त भने तर गिरोहका सदस्यले विभिन्न खालका दवाव र धम्की दिएर जवरजस्ती झिकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
मिर्गौैला झिकेपछि १० लाख रुपैयाँ दिने भने पनि पुरा पैसा नपाएको पिडीतले बताएका छन् ।
गिरोहले मिर्गौला प्रत्यारोपण गर्नु पर्ने व्यक्ति एकाघर परिवार भित्रको भन्ने विश्वास दिलाउन पीडितको नागरिकताको प्रमाणपत्र तथा अन्य कागजात समेत नक्कली गराएको थियो ।
प्रहरीका अनुसार मिर्गौला बिक्रीका लागि प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, नेपालबाट भारतको कलकत्तासम्म पुरयाउने र रकम डिल गर्ने कामहरु फरक फरक व्यक्ति भएको खुल्न आएको उल्लेख गरेको छ ।
व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा काठमाडौँ जिल्ला अदालतबाट ९ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

