पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम चलाउन प्रधानमन्त्री ओलीको ‘ग्रीन सिग्नल’

500
Shares

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने प्रक्रियालाई अगाडी बढाउन निर्देशन दिएका छन्।

मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए।

साँझको छलफलमा प्रधानमन्त्री ओलीसहित अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, आयोगका निर्देशकहरु तथा पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता थियो।

छलफलमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले दुई प्रतिष्ठानका लागि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि खर्चको सुनिश्चितताबारेमा बुझेका थिए ।

अर्थ मन्त्रीले खर्चको सुनिश्चितताको आधार प्रस्तुत गरेपछि दुईवटा प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम अगाडी बढाउन निर्देशन दिएका थिए । सो क्रममा उनले प्रतिष्ठानको क्षमता, कक्षा सञ्चालनका लागि चाहिने फ्याकल्टी लगायतका विषयमा प्रतिष्ठानका अधिकारीसंग समेत जानकारी लिएका थिए ।

‘प्रधानमन्त्री ज्यूले चासो राखेका विषयमा सकारात्मक जवाफ पाएपछि उहाँ पनि सकारात्मक हुनु भयो र ‘गो अहेड’ भन्नु भयो । आयोगका उपाध्यक्षलाई पनि आवश्यक कार्य अघि बढाउन निर्देशन दिनु भयो,’ ती सदस्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *