बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न
रिक्त रहेको कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समिति संयोजक तथा सदस्यहरुको चयन

काठमाडौँ, २१ चैत । बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त नयाँ कोषाध्यक्ष, लेखा समिति संयोजक तथा सदस्यहरु निर्विरोध चयन गरेको छ ।
अस्पताल सञ्चालक समितिका महासचिव डा धनबहादुर राना मगरका अनुसार कोषाध्यक्ष पदमा उद्वव ढुङ्गेल , लेखा सुपरीवेक्षण समिति संयोजकमा मानबहादुर खड्का, सदस्यहरुमा रामबहादुर कार्की र गोविन्दराज पौडेललाई निर्विरोध चयन गरेको छ ।
नेपाली कांग्रेसको संस्थापक बीपी कोइरालाको नामबाट स्थापित यो अस्पताल सामुदायिक सहकारी मोडलबाट सञ्चालित अस्पताल हो ।
यस सहकारीले कुल १०० शैय्याको स्वीकृति प्राप्त अस्पतालसंगै शैक्षिक कार्यक्रम तर्फ ४०-४० सिटको नर्सिङ र हेल्थ असिस्टेन्ट (एचए) विषय पढाउने कलेज समेत सञ्चालन गरिरहेको छ ।
बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ समेत रहेका महासचिव डा रानाले अस्पतालले सहुलियत दरमा विशिष्टीकृत सेवा दिदै आएको बताए ।
‘हामी अर्थोपेडिकमा जोइन्ट, नि रिप्लेसमेन्ट, गाइनो तर्फ पनि ठूला ट्युमरका सर्जरीहरु नियमित रुपमा गर्दै आइरहेका छौँ । गुणस्तरीय उपचार सेवा हाम्रो प्रतिवद्धता हो र हामी त्यसमा सफल छौँ । आम नागरिकको विश्वास जितेका छौँ,’ डा. रानाले भने ।
उनले ओपिडी, फार्मेसी देखि रेडियोग्राफीका विभिन्न विधा साथै प्रयोगशाला परीक्षणका सेवाहरु अस्पताल परिसरमै नियमित रुपमा उपलव्ध भएको बताए ।

सेवा सुधारका लागि आवश्यक परे कार्यदल बनाऔँ : काँग्रेस नेता शेखर कोइराला
यसैबीच शनिबारको साधारणसभालाई सम्वोधन गर्न आईपुगेका नेपाली काँग्रेस नेता एवं अस्पतालका संस्थापक अध्यक्ष डा शेखर कोइरालाले अस्पताल स्थापनाको १८ वर्षको अवधीमा धेरै प्रगति भएको पाएको बताए ।
उनले अस्पतालको सेवा र गुणस्तरमा कमी नहोस भन्दै त्यसका लागि कार्यदल बनाएर जान सकिने समेत धारणा व्यक्त गरे । ‘१८ वर्ष अघि नौ करोड रुपैयाँमा लागतमा यो अस्पताल सुरु गरिएको मलाई सम्झना छ । अहिले त सदस्य संख्या पनि बढेको रहेछ , घाटामा पनि रहेनछ । सेवाग्राहीहरु पनि निकै बढेका रहेछन् । मलाई त खुशी लाग्यो,’उनले भने ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजंघ रायमाझीले अस्पतालको सेवा सुधारका लागि आफ्नो तर्फबाट पहल गरिरहेको भन्दै सामुहिक प्रयासबाट अझ राम्रो बनाउन सकिने धारणा व्यक्त गरे । उनले सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि अस्पताल सुधारका लागि देखेका कमि कमजोरी औल्याईदिन र सुझाव दिन आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

