स्वास्थ्यमन्त्री मेहताले लिईन पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

उपचारमा कुनै कसर बाँकी नराख्न त्रिवि शिक्षण अस्पताल प्रशासनलाई निर्देशन
276
Shares

काठमाडौँ, १६ चैत । स्वास्थ्य मन्त्री निशा मेहताले त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

शिक्षण अस्पतालका निर्देशक प्राडा सुवासप्रसाद आचार्यलाई टेलिफोन गरी स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएकी हुन् । सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल नेतृत्वलाई निर्देशन दिएकी थिईन ।

‘उहाँ (ओली)को स्वास्थ्य अवस्था कस्तो छ ? के के परीक्षण भयो ? के के गर्न बाँकी छ ? सबै गर्नुहोला । परीक्षण तथा उपचारमा कुनै कसर बाँकी नराख्नुहोला । त्यसका लागि विशेषज्ञ चिकित्सक टोली परिचालन गर्न र निरन्तर निगरानी राख्नु होला भनेर अस्पताल निर्देशक प्राडा आचार्यलाई मन्त्री ज्यूले निर्देशन दिनु भएको छ, स्वास्थ्य मन्त्रीको सचिवालय भन्यो ।

सचिवालयले मन्त्रीको निर्देशन पछि अस्पतालले सम्बन्धित विशेषज्ञ चिकित्सकहरू संलग्न गरी विस्तृत स्वास्थ्य परीक्षण तथा मूल्यांकन प्रक्रिया अघि बढाएको जनाएको छ। यसैगरी ओलीको स्वास्थ्य अवस्थाको समग्र विवरण तयार पार्ने काम पनि सुरु भएको बताएको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराएका र भर्खरै पितृकर्मबाट बाहिरिएका ओली शारीरिक रुपमा निकै कमजोर रहेको चिकित्सकहरुले बताएका छन् ।

उनको स्वास्थ्यलाई लिएर जिल्ला अदालत काठमाडौँले उपचारमा प्रभावकारी व्यवस्था मिलाउने निर्देशनात्मक आदेश जारी गरेको थियो ।

त्यसो त अस्पतालका प्रवक्ता कालिप्रसाद रोसायराले ओलीको उपचारका उच्चस्तरीय विशेषज्ञ टिम बनाइएको जानकारी दिएका छन् । उनले नेपाली हेल्थसंग केही वेर अघि भनेका थिए, ‘उहाँको उमेर अवस्था र दुई पटक मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएका कारण पनि हामीले कार्डियोलोजिष्ट्, नेफ्रोलोजिष्ट, मेडिसिन, जनरल सर्जरी, प्रयोगशाला विभागबाट विशेषज्ञहरु रहेको एउटा मेडिकल टिम गठन गरेका छौँ ।’

प्रवक्ता रोसायराले अहिले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।

उनले उनले आइतबार देखि मुटु जाँचका लागि राखिएको हल्टर अहिले पनि यथावत राखिएको र ४८ घण्टासम्म राखिने योजना चिकित्सक टोलीले सुनाएको उल्लेख गरे । त्यसपछि उनको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने भन्ने विषयमा आवश्यक निर्णय वा योजना बनाउने समेत जानकारी दिए ।

पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा अन्तरविभागीय विशेषज्ञ चिकित्सकको टोली

ओलीले भने आफ्नो सबै उपचार अहिलै नै गरिदिन आग्रह गरिरहेका छन् ।

गत २३ र २४ भदौमा भएको जेन जी आन्दोलनको घटनाको छानवीन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको सिफारिसको आधारमा गत शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

सुरुमा मुटुको चाल अनियमित देखिएपछि भर्ना गरिएको उनको थप जाँचका क्रममा अरु केही समस्याहरु देखिएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *