२० औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाईयो

काठमाडौँ १७ माघ । ‘म रक्तदान गर्छु’ भन्ने मुल प्रतिवद्धताका साथ २० औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडाँैको आयोजनामा गत बुधबार भृकुटीमण्डपस्थित नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक) भवनमा विशेष समारोह गरी दिवस मनाइएको हो ।
त्रिवि वौद्ध अध्ययन केन्द्रका भिक्षु आनन्दको प्रमुख आथित्यतामा भएको कार्यक्रमको उद्घाटन भने २५ औँ प्रणय दिनको अवसरमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाता जोडी तेजरत्न सरिता महर्जनलाई रक्त संकलन थैली प्रदान गर्दै भएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, रगत रोग विशेषज्ञ डा विशेष पौडेल, मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई, क्यान्सर रोग विशेषज्ञ डा कपेन्द्रशेखर अमात्य, डा मनिता राजकर्णिकार, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ताले शुभकामना दिएका थिए ।
सोही अवसरमा अनकल व्लड डोनर इन्द्ररत्न बज्राचार्य ए पोजेटिभ, लक्ष्मी बलाय श्रेष्ठ बी पोजेटिभ, जीतन राजोपाध्याय ओ पोजेटिभ, निधिस सापकोटा एबी पोजेटिभ, नरेन्द्र श्रेष्ठ ए नेगेटिभ, मधु लोहनी बी नेगेटिभ, ध्रुव अधिकारी ओ नेगेटिभ र देवेन्द्र स्थापित एवी नेगेटिभलाई कदर पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा प्रेमसागर कमाचार्यद्धारा रचना गरिएको र नेपाल आइड विजेताद्धय करण परियार र गंगा सोनामद्धारा स्वरवद्ध नयाँ रक्तदान जागरण गीत ‘जाउ न साथी गर्न रक्तदान’ लोकार्पण गरिएको थियो ।
यसैबीच रक्तविन्दु नेपाल र नेपाल स्वयंसेवी रक्तदाता समाजबीच एकता भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य र रक्तविन्दु नेपालका अध्यक्ष सुमन खरेलबीच एकता भएको आवद्धता पत्र आदान प्रदान भएको थियो ।
कार्यक्रमको सञ्चालन डा. घनश्याम खतिवडाले गरेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



