चिकित्सक संघ निर्वाचन : भोट माग्ने दौडधुपमा टिम बद्री र टिम मंगल, एउटा भरतपुर पुग्दा अर्को भद्रपुर
भोट माग्न हिडेका डा. अरुण शाहीको सचेतना कार्यक्रम संगसंगै

काठमाडौँ, २० पुस । आगामी मागको पहिलो साता देखि सुरु हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि टिम बनाएर उठेका दुईवटा टोली अहिले भोट माग्न तराई झरेको छ ।
टिम बद्री (डा. बद्री रिजाल नेतृत्व)को टोली अहिले हेटौडा, वीरगञ्ज, जनकपुर, धरान, बिराटनगर, बिर्तामोड, दमक पुगेर फर्किई सकेको छ । आज सो टोली चितवनको भरतपुरमा रहेको छ । अब पोखरा हुँदै पश्चिम तर्फ मोडिने तयारीमा छ ।
यस्तै टिम मंगल (डा. मंगल रावल)को टोली भने आज झापाको भद्रपुर पुगेको छ । आज र भोलीमा विर्तामोड, दमक समेत भ्याएर पर्सी बिराटनगर, त्यसपछि हेटौंडा हुँदै चितवन पछि पोखरा हुँदै पश्चिम मोडिने योजनामा रहेको छ । सो टोलीले यसअघि नै चितवन, वीरगञ्च, जनकपुर, लहान, राजविजार, धरान, लगायतका शहरमा पुगेर भोट भेटघाट गरिसकेको छ ।
दावी आ – आफ्नै !
अहिले चितवनको भरतपुर रहेका डा. बद्री रिजालले पूर्वी नेपाल पुगेर फर्किदा उत्साह बढेको बताउँछन् । ‘माहोल हाम्रो टिमको पक्षमा छ । हामी उत्साहित छौँ । अब हामी पोखरा हुँदै पश्चिम नेपालमा मुख्य मुख्य ठाउँ पुगेर फर्किने हो,’ उत्साहित हुँदै उनले भने ।
गाडी रिजर्व गरेर १८ जनाको उम्मेद्धार टोली संगै हिडेको उनले जानकारी दिए । मोफसलका साथीहरुको कुरा सुन्ने, सुझाव ग्रहण गर्ने र आफ्ना प्रतिवद्धता सुनाएर टोली अघि बढेको उनले सुनाए ।
उता भद्रपुर पुगेका डा. मंगल रावलले नेपाल चिकित्सक संघको निर्वाचनमा यसपटक नयाँ इतिहास लेखिने दावी गर्छन । ‘हामी अहिले चुनावी अभियान लिएर उपत्यका बाहिर, चितवनबाट पूर्वी क्षेत्र लागेर अहिले झापा आईपुगेका छौँ । यसबीचमा धेरै शहरहरुमा पसेर चिकित्सक साथीभाइहरुसंग भेटघाट गरियो । हामीलाई चिकित्सक साथीहरुको अपार साथ सहयोग प्राप्त भईरहेको छ । यसपटक नयाँ देखि पुराना धेरै साथीहरु परिवर्तनको कित्तामा उभिने र टिम मंगललाई सघाउने भन्दै हुनुहुन्छ । हामी निकै उत्साहित भएका छौं ।’
उनले झापापछि विराटनगर फर्केर त्यसपछि हेटौडा हुँदै चितवन र पोखरा हुँदै पश्चिम लाग्ने योजना रहेको सुनाए । टिम मंगलको उम्मेद्धार टोली पनि संगसंगै हिडेको छ ।
भोट माग्न हिडेका डा. अरुण शाहीको संगसंगै सचेतना कार्यक्रम

उम्मेद्वारी खारेज गर्ने नेपाल चिकित्सक संघको निर्वाचन समितिको निर्णय विरुद्ध उच्च अदालतको आदेश लिएर आएका डा. अरुण शाहीको अभियान झन् गज्जबको छ ।
टिम मंगलबाट उपाध्यक्ष (बागमती प्रदेश संयोजक) बनेका डा शाहीले चिकित्सक संग भोट माग्दै छन् भने आफ्नो पेशागत दक्षता मेडिकल अंकोलोजीको विषयमा पेरिफेरीको अवस्था समेत बुझ्दै छन् ।
‘मैले त देश निहाल्ने अवसरको रुपमा पनि लिएको छु । हामीकहाँ क्यान्सरका धेरै बिरामीहरु आउनु भएको छ । यहाँका चिकित्सक साथीहरुले पठाउनु भएको छ । हामीले समयमै क्यान्सरको पहिचान गर्न के गर्न सकिन्छ ? कसरी काम गर्न सकिन्छ ? क्यान्सरको उपचारका लागि थप सहज बातावरण गराउन के गर्न सकिन्छ भनेर पनि स्थानीय चिकित्सकहरुसंग सुझाव समेत लिने गरेको छु । हामी आएको थाहा पाएर कतिपय बिरामीको आफन्तहरु समेत भेटन आउनु भएको छ । आशिर्वाद मिलेको छ,’ उनले भने ।
उनले लाहान, राजविराज, धरान हुँदै विभिन्न ठाउँमा पुगेका बेला देखेका सकारात्मक कुराहरुलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन् । उनले सगरमाथा चौधरी आँखा अस्पतालको व्यवस्थापन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको योगदानका बारेमा सार्वजनिक रुपमा आफ्नो धारणा साझा गरिसकेका छन् । यस्तै चिकित्सक संघमा विजयी हुँदा पेशागत तथा उपचारात्मक रुपमा के कस्तो सहयोग गर्न सकिन्छ भनेर समेत धारणाहरु सार्वजनिक गरेका छन् ।
डा. शाहीले यो अभियानमा आफू मात्रै नभई टिम मंगलका हरेक सदस्यहरु लागेको बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

