नेपाल चिकित्सक संघको निर्वाचन :
निर्वाचन समितिले निर्णय परिवर्तन नगरेपछि डा. अरुण शाहीले गरे यस्तो अपिल

काठमाडौँ, ९ पुस । आसन्न नेपाल चिकित्सक संघको निर्वाचनमा उपाध्यक्ष (बागमती प्रदेश संयोजक)मा दिएको उम्मेद्धारी रद्ध भएपछि डा. अरुण शाहीले आम चिकित्सक माझ अपिल सार्वजनिक गरेका छन् ।
बुधबार बेलुका उनले आसन्न निर्वाचनका लागि उम्मेद्धारी दिएपछि भोगेका अनुभव तथा कठिनाईहरुलाई समेटदै जारी गरेको अपिलमा नेपाल चिकित्सक संघको नेतृत्व, निर्वाचन समितिको गतिविधिलाई समेत प्रश्न उठाएका छन् ।
– निर्वाचन समितिद्धारा एक दिन ढिला गरी उम्मेद्धारको नाम प्रकाशित तर आएन डा. अरुणको नाम
मंगलबार जिल्ला प्रशासन कार्यालयले डा शाहीको उम्मेद्धारी कायम राख्न संघको निर्वाचन समितिलाई आदेश दिएको थियो । तर समितिले आज सार्वजनिक गरेको उम्मेद्धारहरुको अन्तिम सूचीमा डा शाहीको नाम समावेश छैन ।
हेर्नुहोस डा. शाहीको अपिल
हार्दिक अपिल !
आदरणीय न्यायप्रेमी चिकित्सकज्यूहरू,पत्रकारज्युहरू, शुभेच्छुक र साथीहरू,
यहाँहरुलाई अवगत नै छ- तीन हप्ता अघि मैले आफ्नो उम्मेदवारी घोषणा गर्दा भनेको थिएँ- नेपाल चिकित्सक संघको निर्वाचनलाई एउटा नियमित प्रक्रिया भन्दा माथि राखेर ‘एनएमए उत्सव’का रुपमा मनाउँ । नेपालको प्रथम पेसागत संगठन संघको मूलमर्म ‘एकता, भातृत्व र सेवा’लाई शिरोपर गरेर अघि बढौं ।
कहिल्यै कुनैपनि निर्वाचनको अभ्यास नगरेको मैले यो निर्वाचनका क्रममा अपेक्षा गरेभन्दा फरक अनुभव हासिल गर्नुपर्यो । स्वस्थ प्रतिष्पर्धामा उत्रिनुको साटो विभिन्न दाउपेच गरियो र मेरो उम्मेदवारीबिरुद्ध मुद्दा हालियो। खारेज गरियो । यसले संघमा आएर आम चिकित्सकका मुद्दामा लड्ने मेरो पवित्र भावनामाथि ठेस मात्रै पुर्याएन, आफू सदस्य रहेको संस्थामा उम्मेदवार बन्न पाउने संवैधानिक हक समेत खोसियो । साथै संघको मूलमर्म ‘एकता, भातृत्व र सेवा’माथि नै प्रहार भयो।
हाम्रो गरिमामय संस्था तथा आस्थाको धरोहर नेपाल चिकित्सक संघको विधान, नियमावली माथि मात्रै होइन, मूलमर्ममाथि नै प्रहार भइरहँदा यसको आजीवन सदस्यका रुपमा चुप लागेर बस्न सकिनँ। त्यसैले मेरो उम्मेदवारी खारेज भएको भोलिपल्टै पुनर्विचारका लागि संघको निर्वाचन समिति समक्ष निवेदन दिएको थिएँ । समितिले मेरो निवेदनमाथि छलफल गर्नु परको कुरा प्राप्त भएको जानकारी गराउनु समेत आवश्यक ठानेन । त्यसपछि मलाई लाग्यो- मेरो उम्मेदवारी खारेजी तत्कालीन परिस्थितिको उपज होइन, चरणबद्ध योजनाको नतिजा हो ।
संस्थालाई त्यसको विधान र नियमावलीअनुसार अघि बढाउनका लागि आवश्यक पहल गर्ने क्रममा संस्था दर्ता भएको ठाउँ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगें। संस्थाको विधान तथा नियमावली पास गर्ने मात्रै होइन, त्यो अनुसार चले/नचलेको नियमन गर्ने नेपाल सरकारको आधिकारिक निकाय जिल्ला प्रशासन कार्यकालयले नियमसंगत अघि बढ्न सचेत गराएको थियाे। विधान र नियमावलीमा भएको व्यवस्था अनुरुपमा समयसीमाभित्र सक्कल वारेस तथा मञ्जुरीनामा ल्याएर उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचनमा सहभागी गर्न/गराउन निर्देशन दिएको थियाे।
तर, त्यसलाई समेत नजरअन्दाज गरेर निर्वाचन समिति अघि बढेकाे छ र अन्तिम नामावलीमा मेराे नाम नसमेटेर सूचना जारी गरेकाे छ । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतान्त्रिक प्रक्रिया हो । निर्वाचन हामी चिकित्सक माझ नै हुन लागेको हो । जसले जिते पनि हामी चिकित्सकले नै जित्नेछौं भन्ने मलाई लागेकाे थियो । संघको मूलमर्म ‘एकता, भातृत्व र सेवा’मा आँच नआउने गरी स्वस्थ प्रतिष्पर्धा हुने कुरामा विश्वस्त थिएँ । मुद्दा होइन, मुद्दामा लड्ने कुरामा विश्वास थियाे। तर, कुनै मुद्दा र एजेन्डा नभएको संस्थापन पक्षकाे उक्साहटमा निर्वाचन समितिले गरेकाे निर्णयले मेराे विश्वास खण्डित भएकाे छ । हामीले बाेकेका मुद्दा स्थापित गर्न न्यायकाे ढाेका ढकढक्याउनु पर्ने अवस्था आएको छ । ‘टिम मंगल’काे एजेन्डा, स्प्रिट र लाेकप्रियतााट संस्थापन पक्ष त्रसित भएको यी तमाम षड्यन्त्रका तानाबानाले पुष्टि गर्छ ।
न्याय र चिकित्सा क्षेत्रकाे हितका निम्ति सम्पूर्णलाई `टिम मंगल´लाई साथ, सहयाेग र मत दिन आह्वान गर्छु । न्याय-नियमका पक्षमा उभिने यहाँहरु सवैमा फेरि पनि आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।
डा. अरुण शाही, उम्मेदवार
उपाध्यक्ष (बागमती प्रदेश संयोजक), टिम मंगल
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



