राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतको अल्पकालीन आदेश

88
Shares

बुटवल, १ पुस ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालीन आदेश जारी गरेको छ ।

उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना जारी गरेको थियो ।

सो सूचना विरुद्ध डा जनार्दन पन्थीले सोमबार (हिजो) रिट दायर गरेका थिए । ‘म मेरो लागि मात्रै होईन, अहिलेको प्रावधानले नेपाल सरकारले स्थापना गरेको प्रतिष्ठानमा नेपाल सरकारका कर्मचारीहरु पदाधिकारीमा नियुक्त हुन नमिल्ने भयो । प्रतिष्ठानमै रहेका प्राध्यापकले पनि त्यो अवसर नपाउने भए । अरु प्रतिष्ठानमा पनि यस्तो असमानता छैन । त्यसैले रिट दायर गरेको हुँ,’ उनले भने ।

शर्माका अनुसार प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।

८ गतेसम्म नियुक्तिको प्रकृयाअघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे आगामी सुनुवाइमा छलफलपछि मात्रै थाहा हुनेछ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *