समतामूलक सेवा विस्तारमा प्राथमिकता दिन सरकार प्रतिबद्ध
काठमाडौं, २६ मंसिर । सरकारले समतामूलक सेवा विस्तारमा प्राथमिकता दिन प्रतिबद्ध रहेको जनाएको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस (युनिभर्सल हेल्थ कभरेज) २०२५ को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै नागरिकले आर्थिक कठिनाइ बिना गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको बताएको छ ।
“स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा” भन्ने नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाईदै छ ।
स्वास्थ्य सेवा प्रवर्द्धनदेखि उपचार, अनि पुनर्स्थापना र दीर्घकालीन हेरचाह सम्मको सम्पूर्ण चक्रमा सबैको पहुँच हुनुपर्ने उल्लेख गर्दै विज्ञप्तीमा सर्वव्यापी स्वास्थ्य पहुँच प्रभावकारी बन्ने हो भने यसले नागरिकलाई गरिबीको चक्रबाट निस्कन सहयोग गर्ने, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउने तथा जनस्वास्थ्य संकटको जोखिम घटाउने भनिएको छ ।
संविधानमा सुनिश्चित स्वास्थ्य अधिकारलाई व्यवहारमा लागू गर्ने अभियान
यसैबीच स्वास्थ्य मन्त्रालयले नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, जनस्वास्थ्य नियमावली तथा राष्ट्रिय स्वास्थ्य नीति मार्फत नागरिकको निःशुल्क आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उपचार पहुँच र गुणस्तरीय सेवामा समान अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ ।
संघीय संरचना लागू भएपछि विभिन्न समुदायका विशिष्ट आवश्यकतालाई ध्यानमा राख्दै राष्ट्रिय स्वास्थ्य नीति परिमार्जित गरिएको र सेवा–विहीन जनसंख्यामा समतामूलक सेवा विस्तार मुख्य प्राथमिकता रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न कयौं महत्वपूर्ण संरचनात्मक तथा कार्यक्रमगत कामहरू अघि बढाइरहेको छ। तीमध्ये, सबै स्थानीय तहका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल, सातै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल, ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी विस्तार, विपन्न नागरिकका लागि नसर्ने रोगको उपचार कार्यक्रम, दूरदराजमा टेलीमेडिसिन सेवा विस्तार, जस्ता पहलहरू आफ्ना प्रमुख उपलव्धी भएको समेत मन्त्रालयले उल्लेख गरेको छ ।
बहुपक्षीय सहकार्य, क्षमता विकास र बीमा सुधारलाई प्राथमिकता
यस्तै स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन सुधार, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, विशेषज्ञ सेवाको विकास तथा विस्तार, र नागरिकको आवश्यकता तथा क्षमताका आधारमा स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन मन्त्रालयको आगामी प्रमुख प्राथमिकतामा रहेको बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा रहेको असमानता घटाउँदै सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न मार्गचित्र तयार पारिसकेको भन्दै सोही अनुसार रणनीतिक कार्ययोजना अघि बढाइने समेत मन्त्रालयले जनाएको छ ।
उसले देशका नीति निर्माता, व्यवस्थापक, कार्यक्रम सञ्चालक, शैक्षिक संस्था, साझेदार निकाय तथा सर्वसाधारण सबैलाई स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि सहकार्य गर्न आग्रह समेत गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



