नेपाल चिकित्सक संघ बागमती उपाध्यक्ष पदमा डा. अरुण शाहीको उम्मेदवारी घोषणा
काठमाडौँ, २० मंसिर । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनलाई लक्षित गर्दै मेडिकल अंकोलोजिष्ट डा अरुण शाहीले बागमती प्रदेश संयोजक तथा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक तथा एनएमएका आजीवन सदस्य रहेका डा शाहीले आज एक भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो घोषणामा उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डा. शाहीले उम्मेदवार बन्दै गर्दा उठ्न सक्ने स्वाभाविक प्रश्न— ‘कताबाट ?’लाई समेत सम्बोधन गर्दै चिकित्सकको पेशागत धर्म जस्तै चुनावी प्रक्रियामा पनि कायम राख्ने बताएका छन्। उनले भनेका छन्, ‘उपचारका क्रममा हामी कुनै जात–धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं। पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार छु।’
डा. शाहीले आफू कहिल्यै प्रत्यक्ष राजनीतिमा संलग्न नरहेको उल्लेख गरे। यद्यपि देशको स्वास्थ्य प्रणाली जटिल मोडमा पुगेको भन्दै अब केवल व्यक्तिगत क्लिनिकल भूमिकाले मात्र समस्यासँग जुध्न नसकिने उनले बताए।
उनको भनाइ छ, ‘आज नेपालको स्वास्थ्य प्रणाली चुनौतीपूर्ण अवस्थामा छ, जहाँ केवल व्यक्तिगत क्लिनिकल कामले मात्रै चुनौतीसँग जुध्न सकिने देखिदैन। स्वास्थ्य सेवा र चिकित्सकको हक–अधिकारका लागि कानूनी तथा संरचनागत सुधार आवश्यक छ। त्यसका लागि आफू पनि प्रत्यक्ष भूमिकामा रहनुपर्छ भन्ने मलाई महशुस भएको छ। आगामी निर्वाचनमा हाम्रो गौरवशाली संस्थाको बागमती प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय लिएको छु।’
आगामी निर्वाचनलाई उनले केवल नियमित प्रक्रिया नभई ‘एनएमए उत्सव’का रूपमा मनाउन अपिल गरेका छन्।
उनले एनएमएका सबै अग्रज, सहकर्मी तथा सदस्यहरूलाई साथ, सहयोग र सक्रिय सहभागिताको लागि अनुरोध गरेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



