थाईल्याणडको अनुभवबाट नेपालमा कस्तो सुधार गर्न सकिन्छ ? बैंकक पुगेका स्वास्थ्य मन्त्री पौडेलले गरे छलफल

116
Shares

बैंकक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशिल स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे अन्तक्र्रिया गरेका छन् ।

जनसंख्या नीति सम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागीताका लागि बैंकक आइपुगेका मन्त्री पौडेलले यहाँ रहेका नेपालीसँग विचार विमर्श गरेका हुन् ।

नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाईल्याण्डको स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा तथा स्वास्थ्य बीमाका बारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव संकलन गरेका हुन् ।

मन्त्री पौडेलले अहिले मन्त्रालयले स्वास्थ्य उपचार सेवा सुधार तथा विस्तारसँगै स्वास्थ्य बीमामा नीतिगत सुधारसम्बन्धी निर्णय गरेर कार्यान्वयनतर्फ अघि बढिरहेको भन्दै दुवै देशको परिस्थितीबारे जानकार नेपालीहरुबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने विश्वास गरे । ‘हामी अहिलेकै श्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौं, मन्त्री पौडेलले भने, ‘तपाईंहरुको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ ।’

नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेको भन्दै उनीहरुको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्ग प्रशस्त गर्ने बताए ।

अन्तक्र्रियामा सहभागी स्वास्थ्य सेवा प्रदायक एप निर्माणमा संलग्न नेपालीहरुले आफ्नो सेवा स्वदेशमा विस्तारमा तयार रहेको बताए । साथै, सहभागी स्वास्थ्य बीमाका जानकारहरुले थाइल्याण्डको अभ्यासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन तथा छलफलमा सहभागीता जनाउने छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *