फर्मासिष्टको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, २६ प्रतिशत उत्तीर्ण
काठमाडौँ, ७ असार । नेपाल फार्मेसी परिषद्ले आज लिएको फर्मासिष्ट (ब्याचलर इन फार्मेसी) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा २६.४७ प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यसपटक परीक्षामा सहभागी ९३३ जनामध्ये २४७ जना (२६.४७ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।
त्यसो त यसपटकको परीक्षाका लागि सुरुमा ९७० जनाले आवेदन दिएका थिए । त्यसमध्ये ९६६ जनाको प्रवेशपत्र बनेको थियो । त्यसमध्ये ९३३ जना मात्रै परीक्षामा सहभागी भएका थिए ।
पाण्डेले यसपटकको परीक्षामा पनि करीव ७०० जना यसअघि पनि परीक्षा दिएका पुराना परीक्षार्थीहरु थिए । ‘नतिजा कमजोर देखिनुको एउटा कारण यो पनि हुनसक्छ,’ उनले भने ।
यसअघि परिषद्ले ३१ जेठमा फार्मेसी सहायकको परीक्षा लिएको थियो ।
सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा विहान साढे १० बजे देखि दिउसो १ बजेसम्म भएको आजको परीक्षा परिषद्को २८ औँ नाम दर्ता परीक्षा हो ।
सम्पर्क इमेल : [email protected]