के तपाईं सुर्तीजन्य पदार्थ त्याग्न चाहनुहुन्छ ? निशुल्क ‘हेल्पलाइन नम्बर-११३२’ मा फोन गर्नुहोस्

काठमाडौँ, २० जेठ । के तपाईँ पनि धूमपान तथा सुर्तीजन्य पदार्थको लतमा रहनु भएको छ ? अनि यसलाई त्याग्न चाहेर पनि सकिरहनु भएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने तपाईँको सहयोगी बन्न सक्छ ‘निशुल्क हेल्पलाइन नम्बर – ११३२’ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले गत शनिबार देखि सञ्चालनमा ल्याएको यो ११३२ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । अहिलेलाई कार्यालय समय मात्रै सञ्चालन हुने यो सेवालाई बिस्तारै चोविस घण्टा सातै दिन लैजाने योजनामा केन्द्र रहेको छ ।
तपाईँले यो नम्बरमा फोन गरेपछि परामर्शदाताले तपाईँलाई धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्नका लागि विभिन्न उपाय बताईदिने छन् ।
शनिबार विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्न सहयोग गर्ने हेल्पलाइन – ११३२ नम्बरमा फोन गरेर प्रारम्भ गरेका छन् ।
सो क्रममा उनले अब कुनै पनि सुर्तीजन्य पदार्थको प्रयोगमा लत बसिसकेका व्यक्ति पनि यदि त्यसलाई छाड्न चाहन्छ भने परामर्श लिन सक्ने र सो कुलत त्याग्नका लागि सहयोगी हुने बताए ।
‘अब तपाईंले कार्यालय समयमा निःशुल्क रुपमा ११३२ डायल गरी आवश्यकताअनुसार परामर्श सेवा लिन सक्नुहुनेछ । पछि यसलाई क्रमस विस्तार पनि गरिनेछ,’ उनले भने ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न हेल्पलाइन सेवा प्रारम्भ गरिएको भन्दै यसले सुर्तीजन्य पदार्थको प्रयोगकर्ता घटाउन प्रभावकारी हुने बताए ।
नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगबाट बार्षिक ३९ हजार २०० बढीको मृत्यु हुने गरेको छ । यसको प्रयोगबाट लाग्ने रोग सहितको आर्थिक क्षति बार्षिक ४६ अर्व बढी हुने गरेको बताइएको छ ।
मानवीय तथा आर्थिक क्षति न्युनिकरणका लागि सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुको विकल्प छैन । सरकारले विभिन्न उपायहरु अघि सार्ने क्रममा यो निशुल्क हेल्पलाइन परामर्श सेवा सञ्चालनमा ल्याएको हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



