मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला र कलेजो एकै व्यक्तिमा एकै पटक सफल प्रत्यारोपण
काठमाडौँ, ११ जेठ । नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको शरीरबाट झिकिएको कलेजो र मिर्गौला एकै व्यक्तिमा एकै पटक प्रत्यारोपण गरिएको छ । नेपालकै विज्ञ चिकित्सकहरुको टोलीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत १ जेठका दिन सो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।
एकै व्यक्तिमा एकै पटक कलेजो र मिर्गौलाको प्रत्यारोपण त्यो पनि मस्तिष्क मृत्यु भएको व्यक्तिबाट हुनु संसारमै बिरलै हुने गर्दछ । तर नेपाली चिकित्सकहरुको टोलीले सो बिरलै मानिने केशलाई सम्भव तुल्याईदिएका छन् ।
गाडीको ठक्करबाट गम्भीर घाईते भई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक १८ वर्षीय किशोरको मस्तिष्क मृत्यु भएको थियो । त्यसपछि चिकित्सकहरुले मस्तिष्क मृत्यु भईसकेको व्यक्तिको जीवन फर्केर नआउने तर अङ्गहरु अरुको ज्यान बचाउनका लागि प्रत्यारोपण गर्न सकिने भनेपछि परिवार अङ्गदानका लागि राजी भएका थिए ।
त्यसपछि अङ्ग पर्खाईमा रहेका मध्ये प्राथमिकताका आधारमा दुई जनालाई सो अंग प्रत्यारोपण गरिएको प्रत्यारोपण कार्यको नेतृत्व गरेका प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको दुईवटा मिर्गौला र एउटा कलेजो मध्ये एक जना ५१ वर्षीय पुरुषमा मिर्गौैला र कलेजो प्रत्यारोपण गरिएको थियो भने अर्को मिर्गौला एक ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको थियो ।
दुबै प्रत्यारोपितहरुको स्वास्थ्य अवस्था सामान्यउन्मुख हुँदै गएको र केही दिनमा डिस्चार्ज हुने डा श्रेष्ठले बताए ।
को को थिए प्रत्यारोपणमा सम्लग्न ?
प्रत्यारोपण केन्द्रका अनुसार यसपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपणका लागि शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए । उक्त प्रयारोपणमा कलेजो तर्फ डा.रोशन घिमिरे र डा प्रविण महर्जनले सघाएका थिए । मिर्गौला तर्फ डा दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा रोजन अधिकारी डा विकास खड्का लगायतले सघाएका थिए । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा रेखा श्रेष्ठ, लगायतले सहयोग गरेका थिए ।
यसैगरी नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा सन्तोष सुवेदी डा रुबश नाथ योगी र डा. बिक्रमबीर बज्राचार्य सहभागी थिए । रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गरेको निर्देशक डा श्रेष्ठले बताए ।
उनका अनुसार प्याथोलोजी विभागबाट डा.सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे, कार्डियोलोजी विभागबाट डा प्रवेश न्यौपाने, डा किसन कुमार कुशवाह, डा. सचिन लामिछाने, पल्मनोलोजी विभागबाट डा राजेश किशोर यादव, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, डा निरु शर्मा, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गरेका थिए । यस्तै नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, निरु सुवाल, मीना खर्वुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । उपसचिव राम प्रसाद आचार्य, लेखा अधिकृत जय कुमार कटुवाल, शाखा अधिकृत हरिहर पोख्रेल, फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभएको आइतबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अस्पतालले मस्तिष्क मृत्यु भएका व्यक्तिको जानकारी दिनुका साथै अङ्गदानका लागि परिवारलाई उत्प्रेरित गर्ने काठमाडौँ मेडिकल कलेज सञ्चालक माननीय सुनिल शर्मा, सर्जन डा रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ लगायतको विशेष भूमिका रहेको भन्दै धन्यवाद दिएको छ ।
शल्यचिकित्सक डा श्रेष्ठले मस्तिष्क मृत्युपछि अंगदान गर्ने कार्यलाई प्रोत्साहित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अंगदाताको परिवारलाई दिईने आर्थिक सहयोग बृद्धि गरको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई समेत धन्यवाद दिएका छन् । मन्त्री पौडेलले यसअघि मस्तिष्क मृत्यु भएको अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी रु २ लाख तथा अंगदाता अस्पताललाई रु ७५ हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा डा कल्पनाकुमारी श्रेष्ठले लामो अन्तरालपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग प्रत्यारोपण गरिएको सुनाईन् । उनले १५० बढीको कल आए पनि अहिलेसम्म ६ जनाको मात्रै अङ्ग प्रत्यारोपण भएको बताईन् । कहिले अंग नमिल्ने, कहिले परिवारलाई नमिल्ने त कहिले अस्पताललाई नमिल्ने भएर यसले राम्ररी गति लिन सकिरहेको छैन । उनले मस्ष्कि मृत्यु भएको व्यक्तिको अंगबाट अहिलेसम्म १२ जनाको मिर्गौला र ४ जनाले कलेजो प्रत्यारोपण गराएको बताईन् ।
नेपालमा कहिले देखि सुरु भयो कलेजो प्रत्यारोपण ?
नेपालमा कलेजोको पहिलो पटक प्रत्यारोपण गर्ने श्रेय पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई नै जान्छ । केन्द्रले पहिलो पटक २२ मंसिर २०७३ मा दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको हो । प्रत्यारोपण केन्द्रले हाल सम्म देशको सबै भन्दा धेरै (३४ जना) र संभवतः संसारकै सबै भन्दा सस्तो मुल्यमा (रु १५ देखि २० लाख) केलेजो प्रत्यारोपणमा गरेको निर्देशक डा श्रेष्ठले बताए । त्यहाँ अहिले ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको चिकित्सकहरु बताउँछन् ।
नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यू हुने गर्दछ र काठमाण्डौ उपत्यकामा मात्रै वार्षिक करीब १००० जनाको मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ ।
एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ जना सम्मले पुर्नजीवन पाउन सक्दछ । जसमा दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्र गरी आठ जनाले पुर्नजीवन पाउन सक्दछन ।
सम्पर्क इमेल : [email protected]