‘ब्रेन डेथ’ भएको एक व्यक्तिबाट मिर्गौला र कलेजो झिकेर गरियो तीन जनामा प्रत्यारोपण

काठमाडौँ, १९ फागुन ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक जना व्यक्तिको मिर्गौला र कलेजो झिकेर तीन जना बिरामीमा प्रत्यारोपण गरेको छ ।

प्रत्यारोपण केन्द्रले भक्तपुरको एक अस्पतालमा ब्रेन डेथ भएकी १७ वर्षीया किशोरीको दुईवटा मिर्गौला र एउटा कलेजो झिकेर तीन जनामा प्रत्यारोपण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको दुईवटा अंगबाट तीन जनाले जीवनदान पाएको बताए ।

उनले एकै व्यक्तिबाट झिकिएको दुईवटै मिर्गौला क्रमश ३५ र ४७ वर्षका पुरुषमा र कलेजो ६९ वर्षको पुरुषमा सफलता पूर्वक प्रत्यारोपण गरिएको बताए । उनले एकै व्यक्तिको दुई फरक फरक अंग (कलेजो र मिर्गौला) झिकेर तीन जनामा प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको जानकारी दिए ।

‘गत १५ फागुनमा भक्तपुरकै एक निजी अस्पतालमा सवारी दुर्घटनामा परी उपचार गराईरहेकी एक १७ वर्षीया किशोरीको मस्तिष्क मृत्यु भएको र उक्त किशोरीको परिवारले अंग दान गर्न ईच्छा जाहेर गरेको खवर आयो । हामीले तत्कालै परिवारसंग सम्पर्क गरयौँ । त्यसपछि मेडिको लिगलका सम्पूर्ण प्रक्रिया पुरा गरेर अंग झिक्यौं । अंग पर्खाईमा रहेका बिरामीहरुलाई तयार गरियो र १६ फागुनको विहानै देखि प्रत्यारोपणका काम सुरु गरयौँ । कलेजो प्रत्यारोपणमा सघाउन विहान पहिलो उडानबाट भारतबाट विज्ञ चिकित्सकको टोली समेत आइपुग्यो,’ प्रत्यारोपणबारे केन्द्रका निर्देशक डा श्रेष्ठले भने ।

उनका अनुसार मायादेवी गाउँपालिका–४ रुपन्देहीका ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ललितपुर महानगरपालिका–२५ का ६९ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

डा श्रेष्ठले प्रत्यारोपण सम्पन्न भएको ७२ घण्टा नाघेको र स्वास्थ्य अवस्था सामान्यउन्मुख बन्दै गएकोले आज यसबारे जानकारी गराइएको समेत स्पष्ट पारे ।

कार्यक्रममा प्रत्यारोपण केन्द्रका नेफ्रोलोजिष्ट एवं अंग प्रत्यारोपण समन्वय ईकाईका संयोजक डा कल्पनाकुमारी श्रेष्ठले ब्रेन डेथ सम्वन्धी कानून बनेपनि अपेक्षित रुपमा मस्तिष्क मृत्युपछि अंगदान गर्ने प्रक्रिया अघि बढ्न नसकेको बताईन् ।

उनले भनिन्, ‘देशमा बर्षेनी करीव १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । हामीले भने ६ वर्षको अवधीमा २७ ठाँउबाट मस्तिष्कमृत्यु भयो भनेर खवर त आयो तर ५ ठाँउमा मात्रै सफल भयौँ । यसो हुनुमा यसबारेको जानकारीमा देखिएको अभाव नै हो भन्ने लाग्छ । अहिले पनि हामीकहाँ मिर्गौला प्रत्यारोपणका लागि ७०० बढी पालो पर्खेर बसेका छन् । कलेजो प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पनि २० पुगिसकेको छ ।,

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मस्तिष्क मृत्यु र अंगदान बारेमा जनचेतना जगाउनु अहिलेको लागि सबैभन्दा बढी आवश्यक रहेको बताए ।

नेपालमा २८ कात्तिक २०७४ मा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो ।

त्यसयता अहिलेसम्म १३ जनाले मात्रै ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गराएका छन् ।

जसमा १० जना मिर्गौला र तीन जनामा कलेजो प्रत्यारोपण गरिएको छ ।

गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।

यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्म निर्भर हुनसक्ने छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *