कलेजो र मिर्गौला एक साथ प्रत्यारोपण गरिएकी महिला किष्ट अस्पतालबाट डिस्चार्ज

348
Shares

काठमाडौँ, १३ कात्तिक । नेपालमै पहिलो पटक गरिएको एक व्यक्तिमा एक साथ कलेजो र मिर्गौला प्रत्यारोपण (डुअल अर्गान ट्रान्सप्लान्ट) सफल भएको छ । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन साता लामो उपचार बसाई पछि प्रत्यारोपित महिला घर फर्केकी छन् ।

आइतबार अस्पतालले पत्रकार सम्मेलन गर्दै एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण गरिएकी ३४ वर्षीया महिला पूर्ण स्वास्थ्य लाभ पछि डिस्चार्ज गरिएको जनाएको छ ।

अस्पतालका अनुसार ती महिलामा ‘प्राइमरी हाइपरअक्जलोरिया टाइप -१’ भन्ने कलेजोमा लाग्ने एक प्रकारको जन्मजात रोगले बिकराल रुप लिएपछि कलेजोसंगै दुबै मिर्गौला फेल भएको थियो ।

ती महिलामा सो रोग लागेको किष्ट अस्पतालमै पत्ता लागेको थियो ।

‘गम्भीर प्रकृतिको यो समस्या पार लगाउने एक मात्रै विकल्प एक साथ कलेजो र मिर्गौला प्रत्यारोपण गर्नु थियो । त्यसमा हामी कन्भिन्स थियौँ । बिरामी पक्षलाई पनि त्यसबारेमा सम्झायौँ र उहाँहरु त्यसमा राजी हुनु भयो र पहिलो पटक यसरी डुअल अर्गान ट्रान्सप्लान्ट सम्भव भयो,’ अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले भने ।

कसरी गरियो एकै पटक दुई अंगको प्रत्यारोपण ?
गत २२ असोजमा सम्पन्न यो प्रत्यारोपण सम्पन्न गर्नका लागि किष्ट अस्पतालका विभिन्न विधाका विज्ञहरु सम्मिलित (रियल टाइम मल्टि डिसिप्लिनरी टिम एप्रोच) पद्घतिबाट १०० जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालित थिए । उनीहरुले १८ घण्टा भन्दा बढी समय लगाएर दुवै अङ्गहरुको एकै साथ प्रत्यारोपण गरे ।

त्यसो त किष्ट अस्पताल कलेजो र मिर्गौला प्रत्यारोपणको अनुमति प्राप्त गरेको नेपालकै एक मात्रै निजी अस्पताल हो ।

सुरुमा कलेजो प्रत्यारोपण गरिएको थियो । त्यसले सफलता पाए लगत्तै मिर्गौला प्रत्यारोपणको काम सुरु गरिएको थियो । कुल १८ घण्टामा ती महिलाको शरीरमा नयाँ कलेजो र मिर्गौला फिट गरिएको थियो ।

अस्पतालले यस जटिल प्रकृयामा अङ्ग ग्रहणकर्ता र दुईजना अङ्गदाताहरुको एकै साथ अति समन्वयात्मक तबरले तीनवटा अपरेशन थिएटरहरु प्रयोग गरि शल्यक्रिया गरिएको जनाएको छ ।

प्रत्यारोपण शल्यक्रियामा को को सहभागी भए ?

नेपालमा कलेजो प्रत्यारोपण केही वर्ष देखि हुँदै आएको छ तर नेपाली चिकित्सकहरुले यसमा पूर्ण आत्मविश्वास आर्जन गरिसकेका छैनन् । त्यसैले उनीहरुले हरेक केशमा व्याकअपका लागि विदेशबाट प्रत्यारोपण सर्जन झिकाउने गर्दछन् ।

यो केशमा सघाउन पनि भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयलको नेतृत्वमा डा अरुण कुमार भेनुथुरिमिल्ली, डा सञ्जीव अनेजा सहितको टोली आएको थियो ।

किष्ट अस्पतालको नेतृत्व भने वरिष्ठ शल्यचिकित्सक प्रा.डा. मुकुन्दराज जोशीले गरेका थिए ।

उनीसंगै यस्तै कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह र डा. बरुण श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

मिर्गौला प्रत्यारोपणमा भने डा. नारायण भुसाल, डा.सन्तोष क्षेत्री, डा कश्यप दाहाल खटिएका थिए । उनीहरुलाई अरु चिकित्सकले पनि साथ दिएका थिए ।

अस्पतालका अनुसार चितवनकी ती ३४ बर्षीया महिलालाई आफ्ना ३५ बर्षीय पतिले कलेजो दान गरेका थिए । ३२ बर्षीया भाउजुले मिर्गौला दान गरेकी थिईन ।

मिर्गौलाको अंगदातालाई ७ दिन र कलेजोको अंगदातालाई १३ दिनमा डिस्चार्ज गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्याङ्क अनुसार नेपालमा विभिन्न रोगहरुबाट मृत्यु हुनेहरु मध्ये करिब चार प्रतिशत मृत्यु कलेजो रोगको कारणबाट हुने देखिन्छ भने करिब तीन प्रतिशत मृत्यु मृगौला रोगको कारणबाट हुने गरेको तथ्याङ्क छ ।

विसं २०६३ सालमा स्थापना भएको किष्ट अस्पतालले अहिलेसम्म ११५ जनामा अंग प्रत्यारोपण गरिसकेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *