पहुँचविहीनको मुटु जाँच गर्न मोफसल कुदिरहने काठमाडौँका मुटुरोग विशेषज्ञहरु
सप्ताहब्यापी शिविरमा कर्णालीमा १४ हजार बालबालिकाको मुटु परीक्षण
काठमाडौँ, ६ जेठ । मुटुरोग उपचारमा ख्यातिप्राप्त काठमाडौँका बरिष्ठ मुटुरोग विशेषज्ञहरुको दैनिकी कति व्यस्त हुन्छ भनिसाध्य छैन । तर उनीहरु त्यो व्यस्तताबीच आफ्नो केही समय पहुँचविहीनका लागि छुट्याउने गरेका छन् ।
एक हिसावले भन्दा आफ्नो सेवालाई राजधानीको खाल्टोमा मात्रै सिमित गरेका छैनन् ।
मुटु उपचार क्षेत्रमा कहिलिएका चिकित्सकहरुको सो समूह कहिले शिविर लिएर पूर्वको ताप्लेजुङ पुग्छ भने कहिले सुदूरपश्चिमको अछाम पुग्छ । यस्तै कहिले तराईको महोत्तरी पुग्छ भने कहिले कर्णालीको जाजरकोट रुकुम पुग्छ ।
त्यहाँ पुग्छ जहाँ उपचारको सहज पहुँच छैन, त्यहाँ पुग्छ जहाँ हुनुपर्ने स्वास्थ्य सचेतना छैन ।
त्यहाँ पुगेर टोलीले निशुल्क शिविरको आयोजना गर्दछ, जहाँ बालबालिका तथा आम सर्वसाधारणले आफ्नो मुटु जाँच गराउँछन् । टोलीले त्यहि सम्भव हुने उपचार त्यहि नै गरिदिन्छन्, थप उपचारका लागि आवश्यक परेमा काठमाडौँका लागि रिफर गर्छन, रिफर मात्रै होईन उनीहरुले थप उपचारका लागि लाग्ने खर्च व्यवस्थापनमा पनि सहजीकरण गर्दछन् ।
चिकित्सकहरुको यो टोली राजधानीबाट यसरी मोफसलका विभिन्न जिल्लामा यसरी शिविर लिएर निस्कन थालेको केही वर्ष भयो । जसबाट हजारौँ बालबालिका सहित आम सर्वसाधारणले सेवा पाएका छन् ।
र, हरेक पटक मोफसलमा हुने यस्तो शिविरको आयोजना, समन्वय तथा व्यवस्थापनको काम नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनले गर्दै आएको छ ।
यी दुवै संस्थासंग कुनै न कुनै रुपमा जोडिएका विशेषज्ञहरुलाई काममा सहयोग गर्न अरु स्वास्थ्य प्राविधिक र स्वयंसेवकको साथ रहने गर्दछ ।
……………………………………………………………………..
महोत्तरी सर्लाही लगायतका विभिन्न जिल्लामा शिविर गरेर फर्केको करीव अढाई महिना पछि मुटुरोग विशेषज्ञहरुको समूह शिविर लिएर पश्चिम नेपाल तर्फ लम्कियो ।
नौ जना विशेषज्ञ चिकित्सक, छ जना स्वास्थ्य प्राविधिक र अरु सात जना स्वयंसेवक गरी २२ जनाको टोली त्यसतर्फ गएको थियो । सो टोलीले गत २८ वैशाख देखि ३ जेठसम्म कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान र लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा मुटु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
सो क्रममा ६० वटा विद्यालयका र आसपास क्षेत्रका गरी १३ हजार ८९६ जना बालबालिकाको मुटु परीक्षण तथा उपचार भएको टोलीको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए ।
उनका अनुसार जाजरकोटको खलंगा, मुसिकोट, रुकुमकोट र कपुरकोटमा शिविर राखिएको शिविरमा १३ हजार ८९६ जनाको मुटु परीक्षण भएको थियो । सो क्रममा १ हजार ५ जनाको मुटुको भिडियो परीक्षण (इको कार्डियोग्राफी) गरिएको थियो ।
परीक्षण गरिएका मध्ये ४८ जनामा जन्मजात मुटुरोग, ३० जनामा बाथमुटुरोग, र १० जनामा अन्य मुटुरोग देखिएको र १३ जनाको मुटुको शल्यक्रिया गर्नु पर्ने अवस्थामा रहेको पत्ता लागेको डा. रेग्मीले बताए । उनले यी शल्यक्रिया गर्नुपर्ने केशलाई निशुल्क गराउन प्रतिष्ठानले पहल गर्ने बताए ।
पश्चिम नेपालको शिविरका लागि काठमाडौँबाट खटिएका २२ जना को को थिए ?
पश्चिम नेपालको शिविरका लागि यसपटक काठमाडौँबाट नौ जना विशेषज्ञ सहित २२ जनाको टोली खटिएको थियो । टोलीको नेतृत्व बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले गरेका थिए ।
टोलीमा बरिष्ठ मुटुरोग विशेषज्ञहरु डा. अवनीभूषण उपाध्याय, डा. उर्मिला शाक्य, डा. प्रेमराज बैद्य, डा. डेनिस श्रेष्ठ, डा. सत्यनारायण सुवाल, डा. अजय अधिकारी, डा. निशान भट्टराई, डा. विश्ववन्धु शर्मा रहेका थिए ।
यस्तै स्वास्थ्य प्राविधिकहरु शारदा महर्जन, अनमोल महर्जन, मोहन श्रेष्ठ, केशव ढकाल, भानुभक्त ओझा र महेश भट्ट थिए ।
यस्तै शिविरमा रोटरी क्लव अफ पाटनबाट स्वयंसेवकको रुपमा केदारभक्त श्रेष्ठ, खड्ग बिष्ट, गणेशराज श्रेष्ठ, कमल न्याछे र महेश्वरी विष्ट रावल खटिएका थिए । यस्तै प्रतिष्ठानबाट दीपेन्द्रपुरुष ढकाल र देव गौतम पनि स्वयंसेवकको रुपमा खटिएका थिए । शिविरका लागि नेशनल हेल्थ केयर प्रालिले औषधी उपलव्ध गराएको थियो ।
प्रतिष्ठानको सहयोगमा मुटु परीक्षण गर्दै ६५ जिल्लामा
बाथ मुटुरोग निवारणका लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठानले इण्ड आरएचडी क्याम्पियन (बाथ मुटुरोग निवारण अभियान) सन् २०२० देखि नै सञ्चालन गर्दै आईरहेको छ । यस अन्तर्गत ६५ जिल्लाहरुमा बालबालिकाहरुको मुटु परीक्षण कार्य सम्पन्न गरेको डा. रेग्मीले बताए ।
प्रतिष्ठानले बाथ मुटुरोगको रोकथामका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आईरहेको समेत जानकारी दिए ।
यस्तै प्रतिष्ठानले मुटुका बिरामीका लागि पेनिसिलिन सुईको निशुल्क वितरण र शल्यक्रिया गर्नुपर्ने विपन्न बर्गका बिरामीलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।
डा. रेग्मीका अनुसार नेपालमा बाथ मुटुरोगको ठूलो समस्या छ । जसबाट बर्षेनी १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यो मृत्युलाई रोक्न राष्ट्रिय स्तरमा बाथ मुटुरोग रोकथाम कार्यक्रममा सरकारको सक्रिय सहभागिता हुनुपर्ने डा. रेग्मी बताउँछन् ।
सम्पर्क इमेल : [email protected]