बिहीबार स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन घेर्न जाँदै चिकित्सक
२४ घण्टा भित्र माग पुरा नभए १२ बैशाखमा आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरिदै

काठमाडौँ, १० बैशाख । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहमा अध्ययन् गर्ने चिकित्सकलाई नेपाल सरकारको अधिकृत सरह (४८ हजार ७३७ रुपैयाँ) निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गर्दै बिहीबार (११ बैशाख) का दिन देशभरका सम्पूर्ण चिकित्सकहरुलाई विहान १० देखि १२ बजेसम्म सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न तथा काठमाडौँ उपत्यका भित्रका चिकित्सकलाई माईतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आव्हान गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले २४ घण्टा भित्र माग सम्वोधन नभएमा १२ बैशाखका दिन देशभरका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने जनाएका छन् ।
संघले १६ औँ बैठकको निर्णय अनुसार निर्वाह भत्ता मेडिकल अधिकृत सरहको हुनुपर्ने भन्दै २८ दिन देखि आव्हान गरे पनि राज्यले वेवास्ता गरेको आरोप लगाएको छ ।
यसअघि निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुले आफूहरु अधिकृत तहकै निर्वाह भत्ता दिन तयार रहे पनि स्रोत नहुँदा गाह्रो परेको बताएका थिए । उनीहरुले सरकारले सिट बढाएर, शुल्क बढाएर वा विद्यार्थी परिचालन शुल्क भन्दै छुट्टै अनुदान दिएर समस्याको समाधान गर्न सकिने बताएका थिए ।
उनीहरुले यथास्थितिमा आफूहरुले पीजी पढाउदा ठूलो नोक्सानी वेहोर्नु पर्ने बताएका थिए ।
तर संघका अध्यक्ष डा कार्कीले कलेज सञ्चालकहरुलाई कुनै नोक्सानी नहुने ठोकुवा गरे । उनले पछिल्लो एक महिनाको व्यालेन्ससिट हेरे सबै कुरा थाहा हुने भन्दै कलेज सञ्चालकहरुले भ्रम छरेको आरोप लगाए ।
उनले निर्वाह भत्ताको विषय टुंगो नलाग्दासम्म समितिको कुनै काम अघि बढ्न नसक्ने समेत दोहोर्याए ।
चिकित्सक संघ, निजी मेडिकल कलेज सञ्चालक, चिकित्सा शिक्षा आयोग र सरकारबीच यसरी असमझदारी बढ्दै जाँदा प्रत्यक्ष मारमा भने आम गरीब बिरामी पर्ने निश्चित छ ।
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 