स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउन स्वास्थ्य बीमाको दायरा बढाउनै पर्छ : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, २७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन् ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा बिहीबार स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘नागरिक योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्न सक्छ। जसले अस्पतालको चालु खर्च समेत बीमाबाट प्राप्त हुने स्थिति हुन्छ,’ मन्त्री पौडेलले भने।
उनले अझै पनि धेरैको स्वास्थ्य सेवामा सहज र सर्वव्यापी पहुँच हुन नसकेको बताए ।
मन्त्री प्रौडेलले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार भएको भन्दै स्वास्थ्य सेवा बीमामा आधारित हुनपर्नेमा जोड दिए । उनले अब सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने र त्यसका लागि आधार निरोधात्मक तथा उपचारात्मक सेवालाई मान्नुपर्ने बताए ।
सो कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्यमा सर्वव्यापी पहुँचमा पुग्आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य सर्वव्यापी पहुँच पुर्याउन प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकेमा ९० प्रतिशत लक्ष्य प्राप्त गर्न सकिने भन्दै प्राथमिक स्वास्थ्य सेवा स्तरोन्नत्ती गरेर अघि बढ्नु पर्ने बताए ।
उनले प्राथमिक स्वास्थ्य सेवा स्तरोन्नती गर्न सक्ने र त्यहाँबाट रिर्फर भएर जाने अस्पताललाई व्यवस्थित गरियो भने स्वास्थ्य सर्वव्यापी पहुँच पुर्याउन सकिने औल्याउँदै लक्ष्य प्राप्ति लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले नयाँ कार्यक्रम ल्याउँदा त्यसको स्रोत व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गरे । उनले क्यान्सर, मुटु रोग जस्ता जटिल प्रकारका सेवालाई प्रदेश स्तरसम्म बिस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. सुधा देवकोटाले कार्यक्रमको औचित्व प्रष्ट्याउँदै स्वागत मन्तव्य दिएकी थिईन् ।
यसपटकको दिवसको नारा ‘नागरिकको स्वास्थ्यः राज्यको दायित्व’ भन्ने रहेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

