विशेषज्ञ बन्न कर्णालीका चार जना चिकित्सकलाई छात्रबृत्ति
अध्यनन् पुरा भएपछि तीन वर्षसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग आवद्ध भई काम गर्नु पर्ने

काठमाडौँ, ११ कात्तिक । विशेषज्ञ बन्न कर्णाली क्षेत्रका चार जना चिकित्सकलाई छात्रबृत्ति दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डाक्टर फर नेपालले विशेषज्ञ बन्न चार जना चिकित्सकलाई छात्रबृत्ति दिएको हो । उनीहरुले अध्ययन पुरा भएपछि प्रतिष्ठानसंग जोडिएर कर्णाली क्षेत्रमा कम्तीमा तीनवर्ष काम गर्ने छन् ।
छात्रबृत्ति छनौटमा परेका विद्यार्थीहरुमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन अन्तर्गत धुलिखेल अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ पढ्दै गरेकी जुम्लाकी डा. सृजना रावल, चितवन मेडिकल कलेजमा साइक्याट्रिक विषयको अध्ययन् गर्दै गरेकी कालिकोट कि डा. ज्वाला बराल, लुम्बिनी मेडिकल कलेजमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ विषयको अध्ययन गर्दै गरेकी जुम्लाकी डा. नभिता कंडेल र नेशनल मेडिकल कलेज वीरगञ्जमा एमडीजीपी विषय अध्ययन गर्दै गरेकी मुगुकी डा. मिना काफ्ले चौलागाईं रहेका छन् ।
प्रतिष्ठानको काठमाडाँैस्थित सम्पर्क कार्यालयमा आइतबार प्रतिष्ठानका प्रशासन अधिकृत अमृतबहादुर भण्डारी, डाक्टर फर नेपालका तर्फबाट डा केट यारो, निगेल लवेर्र्स र छात्रबृत्तिमा छनौट भएका चार जना विद्यार्थीहरुबीच सम्झौता भएको छ ।
सम्झौता पछि बोल्दै प्रतिष्ठान लेखा प्रमुख मोकेन्द्र शाहीले पुरानो कर्णाली क्षेत्रमा विशेषज्ञ सेवा उपलव्ध गराउन सोही क्षेत्रका चिकित्सकहरुलाई प्रोृत्साहन गर्न छात्रबृत्ति कार्यक्रम सुरु गरिएको बताए । उनले अध्ययन पुरा गरेपछि छात्रबृत्तिका चिकित्सकहरु तीन वर्ष प्रतिष्ठानसंग ‘बोण्ड’ हुने र तोकिएको ठाउँमा गएर सेवा दिनुपर्ने सर्तसहितको सम्झौँता पत्रमा हस्ताक्षर भएको बताए ।
डाक्टर फर नेपालकी प्रमुख डा. केट यारोले कर्णाली क्षेत्रमा काम गर्नका लागि कर्णाली क्षेत्रकै डाक्टरहरुलाई विशेषज्ञ बनाउने योजनाका साथ प्रतिष्ठानले ल्याएको प्रस्तावमा सहकार्य गरेको बताइन । उनले आफ्नो संस्था र प्रतिष्ठानले छात्रबृत्तिको रकम आधा आधा व्यहोर्ने गरी मिलाइएको बताईन् । उनले यसअघि पनि आफ्नो संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थासंग मिलेर स्वास्थ्य क्षेत्रको जनशक्ति तयार गर्ने कार्य गरेको जानकारी दिईन् । उनले एकेडेमिक क्षेत्र बाहेक, मेडिकल उपकरण, स्वास्थ्य शिविर र उपचारमा समेत सहयोग गर्दै आइरहेको बताईन् ।
लेखा प्रमुख शाहीले छात्रबृत्तिमा छनौट भएका चिकित्सकहरुको सरकारले तोकेको पढाई शुल्क २३ लाख रुपैयाँ र होस्टल शुल्क कलेजको खातामा पठाइदिने बताए । उनले शुल्क तिरिसकेका विद्यार्थीहरुको हकमा भने उनीहरुलाई नै सोधभर्ना गरिदिने जानकारी दिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



