‘वीरको दुवाकोट परियोजना हाम्रो मुख्य प्राथमिकतामा रहेको छ’
प्राडा भुपेन्द्रकुमार बस्नेत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति हुन् । तर पेशागत रुपमा आफूलाई ग्यास्ट्रो इन्टेरोलोजिष्टको रुपमा चिनाउन रुचाउँछन् । अध्ययनको कुरा गर्दा प्राडा बस्नेतले विद्यालय शिक्षा अर्थात कक्षा १ देखि १० सम्म श्री सुनपकुवा मावि मंगलबारे मोरङबाट सम्पन्न गरेको बताए । त्यसपछि आईएस्सी त्रिचन्द्र क्याम्पस काठमाडौँबाट पुरा गरे । चिकित्सा शास्त्र तर्फ एमबीबीएसको अध्ययन बंगलादेशको चटगाउँ मेडिकल कलेजबाट पुरा गरे । एमडी इन्टरनल मेडिसिन त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)बाट गरे भने डीएम ग्रास्ट्रोइन्टेरोलोजी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट पुरा गरे । एफआरसीपी इडिनवर्गको उपाधी बेलायतबाट लिएको बताउँछन् । आफ्नो पेशा र अध्ययन्बारे सरसर्ती जानकारी दिएपछि उनीसंग न्याम्स र वीर अस्पतालको विषयमा केन्द्रीत रहेर केही प्रश्नहरु अघि सारेका थियौँ । उनले ती प्रश्नहरुको जवाफ यसरी सुनाए :

उपकुलपति हुनु अघि तपाईँले वीर अस्पतालको नेतृत्वमा रहेर काम गर्नु भयो, अहिले उपकुलपति हुनुहुन्छ, तपाईँको पेशागत अनुभवबाटै कुरा सुरु गरौँ न है ?
म वीर अस्पतालमा दुई पटक नेतृत्व गर्ने अवसर पाएँ तर फरक पद्धतीबाट । पहिलो पकट विसं २०७३ देखि २०७५ सम्मको दुई वर्षे कार्यकाल जसमा कार्यकारी निर्देशकको भूमिकामा थिएँ । यसबेला म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन अनुसार निर्देशक बनेको थिएँ । अर्को चाही २०७८ सालमा, त्यसबेला देशमा कोभिड १९ को महामारी थियो ।
सरकारले त्यसबेला बेला कोभिड नियन्त्रण सम्वन्धी अध्यादेश ल्याइएको त्यसले वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा परिणत गरेको थियो । त्यसको म प्रमुख कार्यकारी अधिकारीको भूमिकामा थिएँ । त्यसबेला वीर मात्रै होइन कोभिड १९ को उपचार गर्ने नेपाल भरका अस्पतालहरुको ह्याण्डिलिङ गर्ने जिम्मा थियो ।
अहिले त म उपकुलपतिको रुपमा कार्यरत छु । सरकारी सेवामा मेरो प्रवेश २५ वर्ष पुग्यो ।
२०५६ साल माघ १० गते मेडिकल अफिसरबाट सरकारी सेवामा प्रवेश गरेको हो ।
न्याम्ससंग मेरो प्रत्यक्ष अप्रत्यक्ष रुपमा लामो समय आवद्धता छ । तर मैले एमडी गर्दा न्याम्समा खुलेको थिएन । त्यो बेला आईओएमबाट एमडी प्रोग्राम गर्दा आधि पोष्टिङ चाहि वीर अस्पतालमा हुन्थ्यो । जतिखेर मेरो एमडी सकिन लागेको थियो त्यसबेला न्याम्स खुल्यो ।
जागिरको दौरानमा म न्याम्समा शैक्षिक कार्यक्रममा लामो समय देखि नै आवद्ध छु । जस्तो कि एसिस्टेन्ट प्रोफेसर इन्टरनल मेडिसिन ५ वर्ष, त्यसको अर्को पाँच वर्ष असोसिएट प्रोफेसर भएर न्याम्सको इन्टरनल मेडिसिन विभागमै काम काम गरेँ ।
त्यसपछि प्रोफेसर भएँ । प्रोफेसर भईसकेपछिको समयमा मैले निर्देशकको जिम्मेवारी पाएँ । न्याम्सको ऐनमा प्रोफेसर वा असोसिएट प्रोफेसर निर्देशक बन्न सक्ने व्यवस्था छ । सोही अनुसार मैले सो जिम्मेवारी पाएको थिएँ ।
त्यो भन्दा पहिला म एकेडेमिक जिम्मेवारीमा थिएँ । तीन वर्ष एकेडेमिक काउन्सिलको सदस्य बनेँ । त्यो भन्दा अघिको तीनवर्ष न्याम्सको कार्यकारी परिषद्को सदस्य पनि थिएँ । हामीले कार्यकारी परिषद्बाट रिसर्च युनिट खोलेका थियौँ । अनुसन्धानलाई कसरी शैक्षिक कार्यक्रममा जोड्न सकिन्छ भनेर । म त्यो ग्रुपको सदस्य समेत थिएँ र विभिन्न विषयगत समितिमा पनि थिएँ ।
जस्तै: इन्टरनल मेडिसिनको विषयगत समितिमा पनि थिएँ । ग्यास्ट्रो इन्टरोलोजीको विषयगत समितिमा पनि काम गरेँ । न्याम्सको जर्नलको सम्पादकीय समूहमा रहेर पनि काम गरेँ । अर्थात म उपकुलपति हुनु भन्दा पहिले थुप्रै एकेडेमिक पोजिसनमा बसेर काम गरेँ । त्यसैले मैले यो धेरै एकेडेमिकबारे बुझ्ने र काम सिक्ने मौका पनि पाएँ । त्यसले राम्ररी बुझें भन्ने लाग्छ र त्यस अनुसार मलाई जिम्मेवारी पनि दिएको छ र त्यो पुरा गर्न म लाग्नेछु ।
उपकुलपति भईरहँदा तपाईँका प्राथमिकताहरु के के छन ?
म उपकुलपति हुँदै गर्दा मैले केही प्राथमिकताहरु राखेको थिएँ । त्यसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानहरु दुवाकोट परियोजना मेरो पहिलो प्राथिमिकता रहेको छ । शैक्षिक कार्यक्रम विस्तार गर्ने प्राथमिकता राखेको थिएँ । अन्तराष्ट्रिय शैक्षिक सम्वन्ध विस्तार गर्ने कार्यक्रम प्राथमिकतामा राखेको थिएँ । वीर अस्प्ताल भित्रको सेवा सुविधा जनशक्ति व्यवस्थापन जस्ता विषय पनि मेरो प्राथमिकतामा थिएँ । त्यहि प्राथमिकता अनुसार अहिलेका काम अघि बढी रहेको छ । समष्टिगत रुपमा यसलाई तीन किसिमबाट हेर्न सकिन्छ । एउटा शैक्षिक गतिविधि, अर्को अस्पतालको सेवा सुविधा र तेस्रो अनुसन्धान ।
त्यसो त न्याम्सको स्थापना हुँदा पनि तीनवटा मुख्य प्राथमिकता राखिएको थियो । शैक्षिक कार्यक्रम, अस्पतालको सेवा र अनुसन्धान । यी विषयलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने मेरो कार्ययोजनामा उल्लेख छ ।
मुख्य प्राथमिकता मध्येको दुवाकोट परियोजना कहाँ पुग्यो ?
हामी आईसकेपछि दुवाकोट परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा लाग्यौँ । कोभिड भन्दा पहिलेको समयमा नै यो परियोजनालाई कसरी अघि बढाउने भनेर घनिभुत ढंगले लागेका थियौँ ।बास्तवमा यो परियोजनामा म सुरु देखि नै आवद्ध छु । जतिखेर दुवाकोटको लागि काम सुरु हुँदै थियो, त्यसबेला प्राडा गणेश गुरुङ उपकुलपति हुनुहुन्थ्यो । म त्यो बेला कार्यकारी परिषद्मा सदस्य थिएँ ।
तत्कालीन अर्थ मन्त्री जो हाल पनि उपप्रधान सहित अर्थ मन्त्री बनेर आउनु भएको छ, विष्णु पौडेल ज्यू, उहाँले त्यसबेला एउटा मिटिङ बोलाउनु भएको थियो । त्यसमा अर्थ मन्त्री अर्थ सचिव, स्वास्थ्य मन्त्री स्वास्थ्य सचिव र न्याम्सका हामी पदाधिकारी थियौँ । र मिटिङमा के कुरा भयो भने वीरको अहिलेको स्थान साघुरो भयो यो ठूलो ठाउँमा सार्नु पर्छ त्यसका लागि ‘होमवर्क’ गरौँ भन्नु भएको थियो । त्यसपछि तीन चार चरण मिटिङ बस्यो । त्यसले जग्गा खोज्नका लागि एउटा कमिटि बनायो । कमिटिले सात ठाउँमा जग्गा हेरयो । त्यसमध्ये दुवाकोटको ५७० रोपनी त्यसबेला प्राप्त गरयौँ । त्यसबेला ‘मास्टर्स प्लान’ भएको थियो,केही काम अघि पनि बढी सकेको थियो । चीन सरकारले बनाईदिने हो कि भन्ने पनि भयो, त्यहाँको प्राविधिक टोली पनि आयो । बीचमा कोभिड आएपछि त्यो रोकियो । जव कोभिड पछि म जव नेतृत्वमा आएँ त्यसपछि पुन यो विषयलाई उठाइएको छ । अहिलेको अवस्थामा जनसंख्या बढेको छ, बिरामी बढेका छन् । जनशक्ति पनि बढेको छ । प्रविधि बढेको छ । यो अवस्थामा स सानो होइन ठूलो र सुपर स्पेश्यालिटी अस्पताल खोल्नु पर्छ, विदेश उपचारका लागि जानेहरुलाई यहि सबै सम्भव हुने गरी व्यवस्था गर्नुपर्छ भन्ने दुवाकोट परियोजनाको लक्ष्य हो । विदेश जान नपर्ने खालको अस्पताल नेपालमै हुनुपर्छ भन्ने अर्थ मन्त्री ज्यूको जो चाहना थियो, त्यहि अनुसार नै यो परियोजना अघि सारेको हो ।
अहिले म उपकुलपति भइसकेपछि पनि त्यहाँ गएर जग्गाको अवस्था हेरेका छौँ । तत्कालीन मन्त्री ज्यूहरुको भ्रमण गरायौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा त्यो विषय राख्न खोजेका थियौँ तर त्यो सम्भव भएन ।
अब पछिल्लो कुरा के भने, अस्ती मात्रै गणतन्त्र दिवसको दिन स्वास्थ्य मन्त्री स्वास्थ्य सचिव ज्यू, उपप्रधान एवं अर्थ मन्त्री ज्यू, अर्थ सचिव ज्यू र न्याम्सको पदाधिकारीहरु सम्मिलित मिटिङ भएको थियो अर्थ मन्त्रालयमा । अर्थ मन्त्री ज्यूले यसलाई तत्काल अघि बढाउन भन्नु भएको छ । त्यसको लागि एउटा समय सापेक्ष डीपीआर तत्काल बनाउने र काम अघि बढाउने भन्नु भएको छ । त्यसमा अहिले होमवर्क गरिहेको अवस्था छ ।
दुवाकोट परियोजना कसरी अघि बढ्छ ? त्यहाँको योजनाबारे पनि सुनाईदिनुहोस न ?
त्यहाँ हामीले १५०० बेडको सुपर स्पेस्यालिटी अस्पताल बनाउने, सबै विशेषज्ञ सेवाहरु, नयाँ नयाँ विषय सहितका सेवाहरु उपलव्ध हुने । एकेडेमी बन्ने , एमबीबीएस बीडीएस नर्सिङ, एलाइड हेल्थ साइन्सेजका जति छन् शैक्षिक कार्यक्रम गर्ने र विद्यार्थी शिक्षक तथा कर्मचारीलाई आवास सुविधा समेत दिने गरि काम गर्ने भनिएको छ । यहि परिकल्पना अनुसार ‘डिपीआर’ बनाउन हामीलाई निर्देशन प्राप्त भएको छ सोही अनुसार हामीले काम गर्नेछौँ ।
तपाईँ उपकुलपति भईसकेपछि पनि वीर अस्पताल र न्याम्स अलग हुने कि नहुने भन्ने विषय चर्चा परिचर्चा भएको पायौँ, यो विषय खास के हो ? के गर्नु उचित जस्तो लाग्छ तपाईँलाई ?
एकेडेमी भनेको कप्लिट एउटा प्याकेज हो । त्यो एकेडेमीमा अभिन्न अंग अस्पताल हुने गर्छ । यसले स्वास्थ्यका जनशक्तिलाई तालीम दिने हो । जस्तै आज न्याम्सले एमडी एमएस डीएम एमसीएचको कोर्ष चलाई रहेको छ । नर्सिङ लगाएतको कोर्ष चलाएको छ । सबै विषयको पढ्ने पढाउने तालीम लिने साइट चाहि अस्पताल हो । त्यो सबै एकेडेमी वा युनिभर्सिटीको आफ्नो एउटा अस्पताल हुन्छ । यस्तै न्याम्सको आफ्नो अस्पतालको रुपमा अहिलेको ऐनले वीर अस्पताल नै हो भन्ने चिनेको छ । यो अभिन्न अंग हो । यो छुट्टै हुनै सक्दैन । त्यसैले अहिलेको अवस्थामा वीर अस्पताल र न्याम्स भनेको एउटै हो भनेर बुझ्नु पर्छ । त्यसैले फेरी पनि मैले स्पष्ट पार्नै र्प वीर र न्याम्स तत्काल छुट्टिन सक्ने अवस्था छैन । वीर अस्पतालबिना न्याम्सको एउटा पनि कार्यक्रम अघि बढ्न सक्दैन ।
हामीलाई थाहा छ, वीर अस्पताल नेपाल सरकारको केन्द्रीय अस्पतालको रुपमा रहेको छ । नेपाल सरकारको केन्द्रीय अस्पताललाई अहिले शिक्षण अस्पताल बनाइएको हो । न्याम्सले पछि दुवाकोट परियोजना बनायो र त्यहाँ सबै एकेडेमिक तथा उपचारात्क सेवाहरु सुरु भयो भने महावौद्यको वीर अस्पताललाई नेपाल सरकारको केन्द्रीय अस्पतालको रुपमा राखेर दुवाकोटमा पठन-पाठन हुन्छ । किनभने न्याम्सले आजको दिनमा वीर अस्पताल हुँदा हुँदै पनि त्यसबाहेकका अन्य अस्पताललाई सम्वन्धन दिएर शैक्षिक कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।
यस्तै दुवाकोटमा आफ्नै अस्पताल भइसकेपछि वीर लगायत अन्य अस्पताल समेत लिएर शैक्षिक कार्यक्रम अघि बढ्छ । तर आजको दिनमा छुट्टै अस्पताल नहुँदा वीर अस्पताल यसको अभिन्न अंगको रुपमा रहन्छ । र आजको दिनमा यी दुई बीच छुट्न सक्दैन र छुट्टिदैन पनि । छुट्टियो भने शैक्षिक गतिविधिलाई असर गर्न सक्दछ ।

न्याम्सको उपकुलपति वीरको उपचार सेवासंग पनि प्रत्यक्ष जोडिएर आउँछ, वीरमा सधै जसो सुनिने गुनासो चै यसको सेवाको बारेमा हुने गर्दछ ? नयाँ सर्जिकल भवन नबन्दासम्म वीर साघुरो भएकोले सेवामा कठिनाई भन्ने थियो, अब त नयाँ भवन आइसक्यो, सेवामा सुधार कहिले आउँछ ?
अहिले त्यसरी हेर्न मिल्दैन । नयाँ भवन आइसकेपछि धेरै कुरा परिवर्तन भएको छ । सेवा सुविधामा त मलाई लाग्छ धेरै नै सुधार आएको छ । अलिकति तुलना, केही वर्ष अघिसम्म वीरको कुनै विभागमा दुई जना डाक्टर, दुईवटा ओपिडी हुने ठाउँमा अहिले सबै विभागमा कम्तिमा ५,७, १० जनासम्म डाक्टर छन् । सबै विभागको ओपिडी हरेक दिन चल्छ । बिरामीको चाप बढेको छ, शल्यक्रिया सेवा बढी रहेको छ । म पहिलो पटक निर्देशक हुँदा अर्थात ७ – ८ वर्ष अघि ओपिडीमा जाडोमा ७-८ सय हुन्थ्यो गर्मीमा १२ – १५ सय हुन्थ्यो । अहिले जाडोको बेलामा १३ – १४ सय हुन्छ । गर्मीमा ३ हजार बढी हुन्छन् । आज घटस्थापनाको दिन सरकारी कार्यालय सबै विदा छ । तर वीर अस्पताल खुलेको छ । आजको दिनमा पनि १ हजार ९३९ जनाले टिकट काटेका छन् ।
वीर अस्पताल प्रति बिरामीको विश्वास बढेको हो र विरामी संख्या बढेको हो । हामीसंग कुनै दिन ५ वटा आइसीयू थियो, आज हामीसंग ५० प्लस आईसीयू सञ्चालनमा छ । हामी १०० वटा आईसीयू चलाउने तयारीमा छौँ । ५ बाट ५० प्लस आईसीयू चलेको छ । ५ वटा ओटीको ठाउँमा १५ वटा ओटी भएको छ । वेडहरु पनि ४६० बाट बढेर ९६० पुगेको छ । ओपिडी संख्या दोब्बरले बढेको छ । सेवाहरु थुप्रै थपिएका छन् ।
डेन्टल ओपिडीमा दुईवटा डेन्टल चियर थियो । दुई जना डेन्टल डाक्टर हुनुहुन्थ्यो मैले देख्दा । आजको दिनमा डेन्टल विभागमा ५ वटा सव स्पेस्यिालिटी, २५ देखि ३० जना डाक्टर र वर्किङ चियर नै ३० ४० वटा छ । कति बढेको छ ? आफै बुझ्नु । मैले ग्यास्ट्रो इन्टेरोलोजी विभागमा काम सुरु गर्दा सातामा दुई दिन इन्डोस्कोपी हुन्थ्यो र एक पटकमा १५ देखि २० जनाको हुँदा सातामा बढीमा ४० जना हुन्थ्यो । आज दैनिक इन्डोस्कोपी हुन्छ र दैनिक ४० देखि ५० जनाको इन्डोस्कोपी हुन्छ । १५ प्लस कोलोनोस्कोपी हुन्छ । अप्रेसनको संख्या दैनिक ५० बढी हुने गरेको छ । १५ वटा ओटीमा १२ वटा हरेक दिन चलेको छ ।
अनलाइन टिकट सिस्टम छ, अनलाइन रिपोर्टिङ सिस्टम छ । धेरै कुराहरु बढेको छ । तीन वर्षको तथ्यांक हेर्ने हो भने धेरै नै बढेको छ । तर पनि कहि कतै चुकेको हुनसक्छ । वेवसाइटको डाइरेक्ट डिस्प्ले हुन्छ । हामीले टिकट काटेको त्यहाँ सिधै जान्छ । कति टिकट काटेको कति भर्ना र कति डिस्चार्ज लगायतका सूचनाहरु सिधै डिस्लेमा आउने गर्दछ ।
तपाईँहरुको सेवा बढ्दा आम्दानी पनि बढ्यो होला, तर स्वास्थ्य मन्त्रालयतिर गुनासो के सुनिन्छ भने वीरलाई जति पैसा दिए पनि पुग्दैन, आर्थिक व्यवस्थापनमा वीरले दक्षता देखाउन सकेन भनेर कटाक्ष पनि सुनिने गरेको छ ? खास कुरा के हो ?
वीर अस्पतालमा धेरै सुपरस्पेसियालिटी सेवा छ । धेरै विशेषज्ञ सेवाहरु छन् तर हामीले अति सस्तोमा सेवाहरु दिएका छौँ ।
अर्को कुरा वीर अस्पताल ४६० बेडमा चलेको थियो । त्यसबेला झण्डै ८ ९ सय देखि हजार जना कर्मचारी थिए होला । अहिले हामी ९६० बेडमा पुगेका छौँ कर्मचारीकै संख्या २ हजार बढी छ । ४६० बेड चल्ने ठाउँमा अर्को ५०० बेड थपिएको छ । यो भनेको त अर्को वीर अस्पताल थपिएको जस्तो हो नि । सबैले बुझ्नुपर्ने कुरा के छ भने खर्च पनि डबल नै हुन्छ । हामीले एउटा सामान्य घर सञ्चालन गर्न त कति खर्च भइरहेको हुन्छ यो त पुरा अस्पताल हो । यसलाई सञ्चालन गर्न त दैनिक खर्च पनि बढी हुने भयो । हाम्रो एकेडेमिक कार्यक्रम सञ्चालन गर्ने संस्था हो । हरेक विभागमा त्यहि अनुसारको उपकरणहरु मेसिनहरु अर्थात साधनहरु राखिएको हुन्छ । तर, अध्ययन सिकाइको क्रममा छिटो विग्रन पनि सक्छ । बनाई राख्नु पनि पर्छ । सरकारी अस्पतालमा सामान छिटो बिग्रन्छ भन्ने पनि लाग्दो हो तर के भने यहाँ काम पनि धेरै हुन्छ । कुनै एउटा निजी संस्थामा हेर्नु भयो भने त्यहाँ दिनमा १० वटा सिटी गरेको हुन्छ । वीरमा दिनमा १०० वटासम्म हुन्छ । १० वटा गर्दा र १०० गर्दामा फरक त पक्कै हुन्छ । हाम्रो अस्पतालमा दिनमा ३० वटा सम्म एमआरआई हुन्छ । अरु संस्थामा ५ १० वटा हुन्छ । धेरै चलेपछि त ‘वेर एण्ड टियर’को पनि सम्भावना हुन्छ नि । हाम्रोमा इन्डोस्कोपी दिनमा ५० जनाको हुन्छ । त्यसको ‘वेर एण्ड टिएर’को सम्भावना पनि बढी हुन्छ । त्यसैले धेरै चलेर मेसिन छिटो विग्रन्छ ।
हामीकहाँ सेवा सस्तो छ , गरीव तथा विपन्न हजारौँ बिरामीको निशुल्क उपचार हुने गरेको छ । छुट लिएर जान्छन् । हामी पनि गरीव दुर्गम क्षेत्रका व्यक्तिहरुलाई नि:शुल्क नै गरिदिन्छौँ ।
सरकारले बुझिदिनु परयो कि वीर गरीवको अस्पताल हो यसलाई पर्याप्त बजेट दिनुपर्छ भनेर । अर्को कुरा यो तालीम केन्द्र पनि हो । यसमा विभिन्न विज्ञहरुको तालीम पनि हुन्छ । हामीले तालीम गर्दा खेरी नै राम्रो र एडभान्स प्रविधिहरु देखाएनौ भने उसले पछि काम गर्न पनि समस्या हुन्छ । त्यसैले हामीले बिरामीसंगै तालीमका लागि पनि धेरै र राम्रा उपकरणहरु ल्याउनु पर्ने बाध्यता छ । यसले पनि खर्चको भोलुम बढी हुन्छ ।
सरकारले वीर अस्पतालमा वर्षमा १० प्रतिशतले बजेट बढाएर पठाएको त छ तर हामी त सेवालाई दोब्बरभन्दा बढी ठूलो रुपमा विस्तार गरेका छौँ । त्यसैले पहिलेको बजेटलाई दोब्बर गरेर त्यसपछि १० प्रतिशतले बढाउँदा राम्रो हुन्थ्यो ।
आगामी दिनमा तपाँईको योजनाहरु के के छन् ?
मेरो भिजन मिसन मध्येमा दुवाकोट परियोजना मुख्य रहेको छ । अर्को कार्यक्रममा अन्तराष्ट्रिय विस्तार हो । अहिले हामी त्यसमा लागिरहेका छौँ । म आएपछि तीनवटा सिनेट राखिसक्यौँ । एउटा दीक्षान्त समारोह गरिसक्यौँ । आइतबार अर्को सिनेट राख्दैछौँ । अर्को दीक्षान्त समारोह गर्दैछौँ । र थुप्रै ऐकेडेमिक बैठक, गृहकार्य, शिक्षकका नियमावली, कर्मचारीका नियमावली, परिमार्जन लगायतका कामहरु भइरहेका छन् । पछिल्लो समय दुई कुराई केन्द्रीत गरेका छौँ । यो शैक्षिक संस्था हो र सरकारको केन्द्रीय अस्पताल पनि हो । त्यसैले धेरै जिम्मेवारी पनि छ भन्ने कुरा बुझेका छौँ ।
शैक्षिक कार्यक्रम विस्तार गर्ने क्रममा अहिले सबै संघीय अस्पतालमा जाने किसिमले गृहकार्य गरेका छौँ । अहिलेसम्म वर्षमा ११० ११२ जना बिद्यार्थी भर्ना लिईरहेका छौँ । अब आउने वर्षमा हामीले त्यो नम्बरलार्य २०० सम्म पुरयाउन सक्छौँ कि भनेर गृहकार्य गरिरहेका छौँ । त्यसका लागि हामीले विभिन्न अस्पतालसंग एमओयू गरेर शिक्षक दरबन्दीको काम गरेका छौँ ।
पीजीको सिटसंख्या दोब्बर गर्ने हाम्रो लक्ष्य हो । त्यसमा हामीले उपत्यका बाहिरका अस्पतालहरु कोशी अस्पताल, नारायणी, भरतपुर र भेरी अस्पताल गरी चारवटा संघीय अस्पताल, मेची आँखा अस्पताल, गेटा आँखा अस्पतालसंग पनि गृहकार्य भइरहेको छ । काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालसंग पनि नयाँ कार्यक्रम थप्ने गरी काम अघि बढाएका छौँ । भएका त छदैछन् । जस्तै कान्ति, प्रसूति, आँखा अस्पताल, तीलगंगा , बिराटनगर आँखा, भैरहवा आँखा त पहिले देखि नै छ । यसले पीजीको विद्यार्थीसंख्या बढाउन सजिलो हुन्छ भन्ने हो ।

दोस्रो हामी विदेशी विश्वविद्यालयसंग पनि आवद्धता छौँ । हामी कुनमिङ विश्वविद्यालय चाइनासंग दुईपक्षीय सम्बन्ध छ । युनिभर्सिटी अफ सिकागो अमेरिकासंग पनि सम्झौँता गरेका छौँ । गत महिना मात्रै हामीले सिंगापुर जनरल हस्पिटलसंग पनि एमओयू भएको छ । चीनकै अर्को विश्वविद्यालयसंग पनि सहकार्यको प्रक्रिया अघि बढाएका छौँ ।
अर्को कुरा हामीले यहाँबाट पास गरेको सर्टिफिकेटलाई इन्टरनेशनल रिकगनेशन गर्नका लागि समेत पहल गरेका छौँ ।
पीजीकै पाठ्यक्रम पनि परिमार्जन गर्दैछौँ । यस्तै एमबीबीएस कार्यक्रमलाई पनि अघि चाडै नै सुरु गर्ने गरी तयारीमा लागेका छौँ । अहिले नै पनि ३०० बढी शिक्षक हुनुहुन्छ । झण्डै १००० बेडको अस्पताल छ । बिरामीको खाँचो छैन शिक्षकको खाँचो छैन । हामीले खाली एमबीबीएस पढाउन वेसिक साइन्सको २० देखि २५ जना शिक्षक लिएर बेसिक साइन्सको भवन बन्ने वित्तिकै यो सुरु गर्न सकिन्छ । यसका लागि अहिले २५ ३० करोड खर्च भयो भने पुग्छ । एउटा मेडिकल कलेज खोल्नका लागि १५ २० अर्व खर्च गर्नुपर्छ ।
एमबीबीएस सञ्चालन गर्न अहिले कानूनले दिन्छ र ?
दिन्छ । किनभने हामी २० वर्ष देखि चलेको संस्था हो । छुट्टै सम्वन्धन लिन पर्दैन । एमबीबीएस कार्यक्रमलाई एउटा थपिएको नयाँ विषयको रुपमा लिनु पर्दछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
