मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल पनि

सतर्कताका लागि स्वास्थ्यले थाल्यो तयारी
140
Shares

काठमाडौँ, ३ भदौ । अफ्रिकी मुलुकमा त्राहीमाम बनाएको मङ्कीपक्सको जोखिम नेपालमा पनि रहेको बताइएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले मङ्कीपक्सको बढ्दो संक्रमणलाई लिएर १४ अगष्टका दिन स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

‘नेपालमा यसवर्ष अहिलेसम्म मङ्कीपक्सको केश भेटिएको त छैन तर अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल जोखिममै छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसो त मन्त्रालयले मङ्कीपक्सको सम्भावित जोखिम र पूर्वतयारीबारे विषय विज्ञसँग सुझाव लिइसकेको छ । अहिले हवाई तथा स्थल सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।

त्यसो त मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।

केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बि’ फैलिरहेको छ । कङ्गोमा जनवरी यता मात्र उक्त भाइरसका कारण ५४८ जना बढीको मृत्यु भइसकेको छ । यसको संक्रमण पछिल्ला दिनमा कङ्गोका छिमेकी मुलुकमा समेत तिब्र गतिमा फैलिएको छ ।

सर्ने तरिका

  • मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा,
  • मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट,
  • शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट,
  • सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट
  • भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

लक्षण

मङ्कीपक्स सङ्क्रमण भएमा :

  • ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने,  डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् ।
  • आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *