बिरामीलाई विश्वास दिलाउन डाक्टर छोरीले गरिन् आफ्नै आमाको शल्यक्रिया

3.4k
Shares

दाङ, ९ साउन ।  तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भनेर टिप्पणी गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौं उपचार गर्न जान खोज्छन्।

बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन्। डा. प्रमिला र डा. रोशन दिदी–भाइ हुन्।

‘काठमाडौं लगेर उपचार गर्ने हैसियत नभएको होइन, हामीले हाम्रो ठाउँको अस्पताललाई किन विश्वास नगर्ने ?,’ डा. प्रमिलाले भनिन्, ‘यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ।’

त्यसो त  डा. प्रमिला आफैँले आमाको शल्यक्रिया गरेकी हुन्। उनले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गरेकी हुन्।

डा. रोशन सोही अस्पतालको एनेस्थेसियामा छन्।

डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुन्।

गएको बुधबार आमाको शल्यक्रिया गरेपछि अहिले आमाले घरमा आराम गरिरहेको डा. प्रमिलाले बताइन्। दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो। त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो।

“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, ‘यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु,’ डा. प्रमिलाले भनिन्, ‘सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ।’

डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगन्ज, घोराही प्रतिष्ठानलगायत स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिएकी छिन्। उनी पछिल्लो ६ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छिन्।

उनी तुलसीपुर–५ का स्थायी निवासी समेत हुन्। रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *