सेभ द चिल्ड्रेनद्वारा स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण

32
Shares

जलेश्वर, २८ असार । सेभ द चिल्ड्रेनले बिहीबार मधेश प्रदेशको जलेश्वर नगरपालिकालाई महोत्तरीको नेपाल–भारत सीमानाको प्रवेशद्वार मलिवरा, भिट्टमोडमा अवस्थित नवनिर्मित स्वास्थ्य सहायता कक्ष भवन हस्तान्तरण गरेको छ ।

कोभिड–१९, एचआईभी÷एड्स, क्षयरोग र औलो जस्ता सरुवा रोगहरू नियन्त्रण गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमअन्तर्गत रु २१ लाख ५४ हजारको लागतमा कन्टेनरमा आधारित उक्त स्वास्थ्य संरचना निर्माण गरिएको हो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको उपस्थितिमा बिहिबार सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दिपक पौडेलले जलेश्वर नगरपालिकालाई भवनको स्वामित्व हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरू, मधेश प्रदेशका स्वास्थ्य सचिव एवं निर्देशकहरू, जिल्ला प्रमुख अधिकारी तथा जलेश्वर नगरपालिकाका स्वास्थ्य अधिकारीहरू र अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका ग्लोबल फण्ड कार्यक्रमका चिफ अफ पार्टी दीपक पौडेलले नेपालमा ग्लोबल फण्ड कार्यक्रमले एचआईभी, क्षयरोग र औलो उन्मूलन र कोभिड १९ नियन्त्रण गर्न सरकारका योजना तथा कार्यक्रमलाई सहयोग गर्नुे हेतुले नेपाल सरकारसँग सहकार्य गर्दैआएको छ भन्दै ठुलो संख्यामा यस नाका हुँदै नेपाली आप्रवासी मुलुकमा भित्रने यो नाकामा यस स्वास्थ्य सहायता केन्द्रले जोखिममा रहेका आप्रवासी जनसंख्या र स्थानीय समुदायमा यी संक्रामक रोगहरुको रोकथाम र नियन्त्रण गर्नको लागि एक महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रको्र भूमिका खेल्ने विश्वास गरेको बताए ।

देशको प्रमुख आवागमन विन्दु वा प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरी यात्रुहरुको स्वास्थ्य परामर्श, परीक्षण, निदान वा प्रेषण सेवा मार्फत संक्रामक रोगको नियन्त्रण र निवारण गर्ने नेपाल सरकारको प्रयत्नमा सहयोग स्वरुप सेभ द चिल्ड्रेनले यस स्वास्थ्य सहायता कक्षको स्थापना गरेको हो ।

स्वास्थ्य सहायता कक्षले एचआईभी÷एड्स, कोभिड १९, क्षयरोग र औलो जस्ता संक्रामक रोगहरूको लागि नियमित परामर्श, परीक्षण र प्राथमिक हेरचाह सेवाहरूको एकीकृत सेवा प्रदान गर्दछ र थप उपचारको लागि प्रेषण सेवा प्रदान गर्दछ । यस स्वास्थ्य सेवा संरचना विशेषतः भारतबाट फर्केका आप्रवासीहरू र स्वास्थ्य सेवाबाट बञ्चित अन्य समूहरू लक्षित गरी स्थापना गरिएको हो । साथै रोगहरूको उपचार व्यवस्थापन प्रभावकारी बनाउन यस स्वास्थ्य सहायता कक्ष नेपाल सरकारको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आवद्ध रहन्छ ।

ग्लोबल फण्ड अनुदानको प्रिन्सिपल रिसिपियन्टको रुपमा सेभ द चिल्ड्रेनले नेपालमा एचआईभी÷एड्स, क्षयरोग र औलो रोग अन्त्यको लागि नेपाल सरकारसँग काम गर्दैआएको छ । यसअघि सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमले कोशी प्रदेशको मोरङको रानी–जोगवानी प्रवेश बिन्दुमा अवस्थित जीर्ण अवस्थामा रहेको स्वास्थ्य सहायता कक्ष भवनको १५ लाख ७६ हजार रुपैयाँको लागतमा मर्मत गरेको थियो । सेभ द चिल्ड्रेनले उक्त भवन गत मंगलबार, अर्थात् २६ असार २०८१ मा कोशी प्रदेशको विराटनगर महानगरपालिकालाई उक्त भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *