तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान

काठमाडौँ, २० असार । नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ ।
अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताए ।
“अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उनले भने, “यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उनले जानकारी दिए ।
जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, ‘होर्डिङ बोर्ड’ निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीले बताए । उनका अनुसार अहिलेसम्म तुलसीपुर–४ मा सात जना क्षयरोगीले उपचार गराइरहेका छन् ।
तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका श्रोत व्यक्ति विमल केसीले बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

