चिकित्सा शिक्षा आयोगको नयाँ व्यवस्था : कक्षा १२ को परीक्षा दिई बसेकाहरु पनि एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने

440
Shares

काठमाडौँ, ३० जेठ । चिकित्सा शिक्षा आयोगले यसपटक देखि कक्षा १२ को परीक्षा दिई बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षा तर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा भाग लिन दिने भएको छ । तर त्यसका लागि गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा विज्ञान विषय लिएको विद्यार्थी हुनु पर्नेछ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि यो विशेष व्यवस्था ल्याइएको बताए । ‘पहिले पहिले १२ कक्षाको विद्यार्थीको नतिजा आउन ढिलाई हुँदा नियमित विद्यार्थीले पनि एकीकृत प्रवेश परीक्षा फागनु चैतसम्म पर्खनु पर्दथ्यो तर यसपटक देखि हामीले भदौमा हुने परीक्षामा कक्षा १२ को नतिजा नआईसकेको भए पनि सहभागी हुन मिल्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।

एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आज विहान १० बजे देखि १८ असार मंगलबार अपरान्ह ५ बजेसम्म सम्म नियमित र त्यसपछि २५ असारसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने भन्दै सूचना जारी गरेको छ ।

सो परीक्षाका लागि गत बैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेश पत्रका आधारमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि (पहिलो संसोधन) २०७९ को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेद्धारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।

दफा ७ मा एमबीबीएस, वीडीएस, विएस्सी नर्सिङ लगायत चिकित्सा शिक्षा तर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स केमेस्ट्री, बायोलोजी लगायतका विषयमा अध्ययन गरेको हुनु पर्ने र त्यसमा कम्तिमा ५० प्रतिशत वा २.४ सीजीपीए÷जीपीए प्राप्त गरी उत्तीर्णं गरेको हुनु पर्दछ ।

‘यो अरु केही होइन, कक्षा १२ को नतिजाका कारण जेहेन्दार विद्यार्थीको समय अनावश्यक रुपमा क्षति नहोस भन्नका लागि हामीले सहजी करण गरेका हौँ । परीक्षा फारम भरेपछि परीक्षा दिनेबेलामा वा दिईसकेपछि पनि कक्षा १२ को नतिजा आएपछि मात्रै उनीहरुको योग्यताको आधारमा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित हुनेछ,’ प्राडा झाले भने ।

आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि ५ भदौसम्म तोकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *