नेपाल हृदयरोग प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको सहकार्यमा:

सुदूरपश्चिमका १३ हजार बढीको मुटु जाँच गरी फर्कदै काठमाडौँबाट गएको मुटु विशेषज्ञको टोली

काठमाडौँ, २७ जेठ । सुदूरपश्चिमेली जनताको मुटु परीक्षण तथा उपचारमा सहयोग गर्ने योजनाका साथ गत १९ जेठमा त्यस तर्फ लागेको सात मुटुरोग विशेषज्ञसहित २२ जनाको टोली आज काठमाडौँ फर्किदै छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटनको संयोजनमा त्यस तर्फ गएको टोलीले अछाम, बझाङ र बाजुरामा गरी तीन जिल्लाका विभिन्न स्थानमा पुगेर एक सातासम्म निशुल्क मुटु परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको थियो ।

शिविरमा कुल १३ हजार १७२ जनाले आफ्नो मुटु जाँच तथा उपचार सेवा लिएको टोलीको नेतृत्व गरेका प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए ।

विभिन्न विद्यालय तथा सार्वजनिक क्षेत्रमा राखिएको शिविरमा विद्यालयका बालबालिका तथा बयस्कहरुको मुटु जाँच गरिएको थियो । शिविरमा ७५० जना बयस्क सहित कुल १ हजार ५२ जनाको इको कार्डियोग्राफी गरिएको थियो । जसमा १२१ जना बालबालिकामा मुटुरोग (बाथ मुटुरोग तथा जन्मजात मुटुरोग)को समस्या देखिएको छ । त्यसमा २२ जना बालबालिकाको तत्कालै शल्यक्रिया गर्नु पर्ने अवस्था पाइएको छ । ती शल्यक्रिया गर्नु पर्ने बालबालिकाहरुलाई काठमाडौँ ल्याएर उपचार गराउन सहयोग तथा संयोजन गर्ने डा रेग्मीले बताए ।

‘हामीले धेरै जिल्लामा शिविर लिएर गएका छौँ सोही क्रममा यसपटक सुदूरपश्चिम पुग्यौँ, राम्ररी उपचारको पहुँच नपुगेको स्थानमा विशेषज्ञ र स्वास्थ्य प्राविधिकहरुको टोली पुगेर मुटु जाँच गर्दा यसको महत्व बेग्लै हुँदो रहेछ । यो शिविर निकै नै उपलव्धी मुलक रहयो,’ डा. रेग्मीले भने ।

त्यसो त टोलीले मुटु जाँच र उपचार मात्रै होईन, संगै मुटु सचेतनाका कक्षा समेत सञ्चालन गरेको थियो । विद्यालयमा पुगेर बालबालिका, शिक्षक तथा अभिभावकहरुलाई मुटुरोग कसरी लाग्छ ? बाथमुटुरोग भनेको के हो ? यस्ता समस्या हुन नदिनका लागि के के कुरामा ध्यान दिने भन्ने बारेमा जानकारीमुलक कक्षा सञ्चालन गरेको थियो । ‘परीक्षण उपचार र सचेतनाका कार्यक्रम संगै गर्दा यसले स्थानीयलाई धेरै नै फाइदा भएको छ,’डा. रेग्मीले अगाडी थपे ।

मष्टेश्वरी आधारभूत विद्यालय मार्तडीका शिक्षक धनबहादुर विष्टले काठमाडौँबाट विज्ञ डाक्टरहरुको टोली यति टाढा आएर निशुल्क रुपमा मुटु जाँच गरिदिदाँ साच्चिकै ठूलो राहत भएको बताए ।

‘हाम्रा सबै विद्यार्थीहरुको मुटु जाँच भयो एक जनाको शल्यक्रिया गर्नु पर्ने देखिएको छ । उनलाई शल्यक्रिया गर्न अभिभावकसंग सल्लाह गरेर काठमाडौँ पठाउनु पर्ने भएको छ । हामी शिक्षकहरुको पनि जाँच भयो, मैले मेरो नि जाँच गराएँ ठिक रहेछ । अब ढुक्क भयो,’ सन्तुष्ठ भावमा उनले भने ।

सुदूरपश्चिम शिविरका लागि काठमाडौँबाट डा. रेग्मीको नेतृत्वमा मुटुरोग विशेषज्ञहरु डा. आरके साह, डा राजेन्द्र कोजु,  डा उर्मिला शाक्य, डा प्रेमराज बैद्य, डा सत्यनारायण सुवाल र डा अच्युतानन्दलाल कर्ण संगै ८ जना स्वास्थ्य प्राविधिक र ७ जना स्वयंसेवक गरी कुल २२ जना त्यस तर्फ गएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *