शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकमा कलेजो प्रत्यारोण

यसपटक लगातार चार वटा कलेजो प्रत्यारोपण गर्ने योजनामा प्रत्यारोपण केन्द्र
868
Shares
३ बर्षीय बालकमा कलेजो प्रत्यारोपण गर्दै चिकित्सकहरु

काठमाडौँ, २७ पुस । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज तीन बर्षीय बालकको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रका निर्देशक समेत रहेका अंग प्रत्यारोपणविज्ञ डा. पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा बीरगञ्ज पर्साका ती बालकको कलेजो प्रत्यारोपण भएको हो ।

ती बालकका लागि उनकी ३० बर्षीया आमाले कलेजो दान गरेकी हुन् ।

‘ती बालकलाई कलेजोको क्यान्सर (हेपाटो ब्लास्टोमा) भएको रहेछ । अभिभावकहरु बालकलाई लिएर भारत समेत जानु भएको रहेछ । प्रत्यारोपणका लागि ठूलो रकम खर्च हुने भनिएपछि पुन नेपाल फर्कनु भयो । हामीकहाँ आउनु भयो र प्रत्यारोपण गरियो । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य छ,’ टोलीको नेतृत्व गरेका डा. श्रेष्ठले भने ।

प्रत्यारोपणका लागि सघाउन भारतको दिल्लीस्थित म्याक्स अस्पतालका डाक्टर सुवास गुप्ताको टोली आएको छ ।

‘कलेजो प्रत्यारोपण अंग प्रत्यारोपणमा सबैभन्दा जटिल मानिन्छ । हामीकहाँ कलेजो प्रत्यारोपण सुरु गरेको धेरै भएको छैन । गरेको प्रत्यारोपणको धेरै केश पनि भइसकेको छैन । त्यसैले बिरामीको पूर्ण सुरक्षाका लागि भनेर हामीले भारतबाट विज्ञहरुलाई बोलाउने गरेका छौँ । हाम्रो टिम पूर्ण रुपमा सक्षम भएपछि यो क्रम हटने छ,’ डा. श्रेष्ठले भने ।

त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकमा कलेजो प्रत्यारोपण

यसपटक लगातार चार वटा कलेजो प्रत्यारोपण गर्ने योजनामा प्रत्यारोपण केन्द्र

यसैबीच शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो साता लगातार चारवटा कलेजो प्रत्यारोपण गर्ने योजना बनाएको छ । ‘आज हामीले तीन वर्षीय बालकको प्रत्यारोपण सम्पन्न गरयौँ । भोली, पर्सी र निकपर्सी गरी अरु थप तीन दिनमा तीनवटा केश गर्ने योजना बनेको छ,’ डा. श्रेष्ठले भने ।

‘भारतबाट टोली आएको बेला र बिरामीलाई ढिलाई नगरी सेवा दिनका लागि यो योजना बनाएका हौँ,’ डा. श्रेष्ठले स्पष्ट पारे ।

सो प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने केन्द्र हो ।

आज सम्म सो केन्द्रमा १७ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *